Sajhamanch Archive

इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

भद्रपुर । झापामा नदीजन्य बस्तु उत्खननमा नियम विपरित गहिरो खन्ने कामका लागि स्काइभ भेटर प्रयोग गर्ने गरिए पनि नियामकको भूमिका पाएका निकाय बेखबर रहेको पाइएको छ ।

स्थानीय तह मार्फत नदी उत्खननको ठेक्का लगाइएका अधिकांस नदीमा नियम विपरित स्काइभ भेटर प्रयोग गरेर गिटी बालुवा उठाउने गरिएको छ तर पनि नियन्त्रण गर्ने निकाय बेखबरजस्तै भएको हो ।

वातावरणीय परीक्षण प्रतिवेदनले तोकेको स्थान तथा निर्देश गरेको मापदण्ड विपरित नदी दोहन भइरहे पनि ठेक्का दिने स्थानीय तह, अनुगमन गरी ठीक बेठिक हेर्ने जिल्ला समन्वय समिति र नियन्त्रण गर्ने प्रदेश सरकारले खोला नदी दोहन पर्यावरण अनुकूल बनाउन नसकेका हुन् ।

झापाका मेची, निन्दा, कनकाई, हँडिया, विरिङलगायत नदीहरूमा गिटी बालुवा संकलनको नाममा दिन दहाडै स्काइभ भेटर प्रयोग गरी नदी दोहन भइरहेको छ । जथाभावी गिटी बालुवा निकाल्दा नदीले बहावको धार परिवर्तन गरी कटानको समस्या बढ्ने प्रति सरोकारवालाले ध्यान पुर्याउन सकेका छैनन् । यता ठेकेदारले ठेक्का सम्झौता विपरित बढी मुनाफामुखी कामका रूपमा खोला नदी दोहन तीव्र पारेका छन् ।

स्काइभ भेटरको प्रयोग गरी जथाभावी गिटी बालुवा उठाउँदा भद्रपुर ७ स्थित इलुवाबारी देउनियाँ खोला छेउको सुकुम्बासी बस्ती टापुमा रुपान्तरण हुने संभावना बढेको छ । बस्ती पूर्वपट्टि रहेको बगरमा तीर्थराज पोखरेलबाट राम गिरीले ठेक्का लिएर स्काइभ भेटरको प्रयोग गरी गिटी बालुवा उठाउँदा बस्ती टापुमा रुपान्तरण हुने संभावना बढेको हो ।

स्थानीयका अनुसार सो जग्गा पोखरेलको नाममा दर्ता रहेको छ । बगर भएका कारण अन्य उब्जनी लिन नसकेपछि पोखरेलले गिरीलाई गिटी बालुवा उठाउन ७ लाख रुपैयाँमा ठेक्का लगाएका हुन् । कुनै जमानामा देउनिया खोलो बगेको बगर अहिले खोलाको मुलधार भन्दा दुई किलोमिटर जति पूर्वमा पर्छ ।

भद्रपुर वडा नम्बर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल व्यक्तिको जग्गा भएकोले गिटी बालुवा उत्खनन नरोकिएको बताउँछन् । वडाध्यक्ष पोखरेल गिटी बालुवा उत्खनन कै कारण बस्ती संकटमा पर्न लागेको वा व्यक्तिको धनजन क्षति हुने अवस्था आएमा वडामा उजुरी गरे कानुनी उपचार हुने प्रष्ट पार्छन् ।

स्काइभ भेटरले त्यही रफ्तारमा गिटी बालुवा उठाउने हो भने अहिले बगिरहेको देउनियाँ खोलाले धार परिवर्तन गरेर सोही स्थान लियो भने सुकुम्बासी बस्ती टापु बन्ने छ भने पूर्वको बस्ती पनि कटानमा पर्ने स्थानीयको चिन्ता छ । नदी कटानको चिन्तासित स्थानीयलाई ट्रिपरको आतङ्कले समेत सताउन थालेको छ ।

भित्री बस्तीको गल्लीमा धुलो र धुँवा लिएर रात बिहान ट्रिपर दौडन थालेपछि स्थानीय बासिन्दामा श्वास प्रश्वास सम्बन्धी समस्या थपिएको पीँडा छ भने ट्रिपरले किच्ने त्रास पनि जोडिएको छ ।

प्राकृतिक स्रोत परिचालन नियमावली अनुसार विज्ञ टोलीबाट वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी उत्खनन गर्न सरकारले स्वीकृति पत्र नदिएसम्म कुनै पनि व्यक्तिले प्राकृतिक उपज र स्रोत बिक्री वितरण गर्न पाउने छैन ।

बिक्री गरिने प्राकृतिक उपज वापत राज्यलाई कर तिर्नु पर्ने प्रावधान रहेको छ । यस्तो नियम पालना नगरी उत्खनन भइरहेको इलुवाबारीको गिटी बालुवा उत्खननले दर्जनौं घर परिवार संकटमा पर्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *