Sajhamanch Archive

एनएमसी हाजिरीजवाफको उपाधि भगवती माविलाई

Published: in सहकारी by .

झिलझिले । शिवसताक्षी–७ स्थित भगवती माविले एनएमसी क्षेत्र नं. ४ माविस्तरीय हाजिरीजवाफको उपाधि जितेको छ । १४ वटा माविलाई पछि पार्दै भगवती माविले सो उपाधि जितेको हो ।

कात्तिक १६ गते झिलझिले माविमा आयोजित प्रतियोगितामा झापा जिल्ला क्षेत्र नं. ४ का १५ वटा माविको सहभागिता थियो ।

प्रतियोगितामा झापा गाउँपालिका ६ को जनता मावि दोस्रो, कनकाई २ स्थित सरस्वती मावि तेस्रो भए । त्यसैगरी सुरुङ्गाको कनकाई माविले सान्तवना पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्था अन्तर्गतको विषयगत समिति अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिको आयोजना तथा एनएमसी दूधे कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख नेपालले एनएमसीले शैक्षिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । एनएमसीले विद्यालयस्तरदेखि नै बचतको महत्त्व सिकाउँदै सामाजिक रुपमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

समितिका संयोजक माधवचन्द्र प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष केरसिंह बस्नेत, झिलझिले माविका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद सापकोटा, प्रधानाध्यापक दीपक न्यौपाने, एनएमसी दूधे कार्यालयगत समिति सदस्य गुरुप्रसाद पाठक, एकाइ संयोजक छविलाल दवाडीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समिति सदस्य सावित्रा दाहाल भट्टराई र गोपाल प्याकुरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *