Sajhamanch Archive

तुलाधरको निधनपछि पद्मरत्न बारे शीर्षनेताको प्रतिक्रिया

Published: in राजनीति, समाज by .

काठमाडौं । नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनलगत्तै विभिन्न दलका शीर्ष नेताहरुले श्रद्धाञ्जलीले व्यक्त गरेका छन् ।

आइतबार मध्यान्ह तुलाधरको निधनको समाचार आएलगत्तै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले बेग्लाबेग्लै सन्देशसहित श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टि्वट गरेर तुलाधरलाई ‘बरिष्ठ वामपन्थी नेता’ भनेका छन् । वाम आन्दोलनमा तुलाधरले पुर्‍याएको योगदान सदा स्मरणीय रहने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भनेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खबर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहनेछ । दिवगंत तुलाधरप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समेवदना व्यक्त गर्दछु ।’

त्यसैगरी नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले तुलाधरलाई ‘पहिचान पक्षधर वाम बुद्धिजीवी’ को उपमा दिएका छन् ।

प्रचण्डले शोक सन्देशमा भनेका छन्  ‘मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको आज दिउँसो निधन भएकोमा अत्यन्त मर्माहत भएको छु । पञ्चायतविरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्ति प्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवी दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुलाधरलाई ‘मानवअधिकारवादी नेता’ तथा भाषा आन्दोलनका अगुवा भनेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले शोक मन्तव्यमा भनेका छन्- ‘मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनको खबरले दुःखी भएको छु ।

नेपालको मानवअधिकार र भाषा आन्दोलनमा उहाँको योगदान स्मरणीय रहनेछ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

अर्का पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले तुलाधरलाई ‘असल मानव’ को संज्ञा दिएका छन् । डा. भट्टराईले भनेका छन्- ‘नेपाली इतिहासका एक असाधारण व्यक्तित्व, समावेसी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मैले सबभन्दा आदर गर्नेमध्येका असल मानव पद्मरत्न तुलाधरको निधनले मर्माहत भएको छु । वहाँप्रति श्रद्धासुमन शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।’

सभामुख कृष्णबहादुर महराले तुलाधरलाई निष्ठावान् इमान्दार र विश्वासिलो व्यक्ति भएको बताएका छन् ।

सभामुख महराद्वारा जारी शोक सन्देशमा ‘माओवादी आन्दोलनका क्रममा सरकारसँग भएका तीनवटै वार्तामा उहाँ मध्यस्थकर्ताका रुपमा हुनुहुन्थ्यो । त्योबेला उहाँको तटस्थ र इमान्दार भूमिकाले शान्तिप्रक्रिया सफल बनाउन विशेष योगदान गरेको थियो’ भनिएको छ ।

तुलाधरले माओवादी आन्दोलनलाई राजनीतिक रुपले हल गर्नुपर्छ भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादी आन्दोलनलाई राजनीतिक शक्तिका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि सभामुख महराले उल्लेख गरेका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले नेपालको राजनीतिक आन्दोलन, समाजिक आन्दोलन र सामाजिक जागरणमा तुलाधरको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

‘नेपालको पछिल्लो परिवर्तनका निम्ति उहाँले खेल्नुभएको भूमिका अविश्मरणीय छ’, सामाजिक जागरणमा उहाँको महत्वपूर्ण योगदान रहृयो’, पौडेलले भने, ‘नेपालको पछिल्लो परिवर्तनका निम्ति उहाँले खेल्नुभएको भूमिका अविश्मरणीय छ ।’

त्यसैगरी संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले तुलाधरलाई शताब्दीमै जन्मेको एक नेताका रुपमा चित्रण गरे । श्रेष्ठले भने, ‘उहाँ नेपालको लोकतान्त्रिक आन्दोलन र व्यवस्थाका एक अभियन्ता हुनुहुन्छ ।’

तुलाधरका सहयात्री एवं पूर्वसभामुख दमननाथ ढुंगानाले देशलाई माया गर्ने व्यक्तिका रुपमा तुलाधरलाई सम्झिरहने बताए । ‘उहाँ एउटा देशभक्त हो, नेपाललाई हृदयदेखि माया गर्ने मान्छे र आफ्नो संस्कृति भाषा सबैको सम्मान होस् भन्ने चहाने व्यक्ति हो’, ढुङ्गानाले भने, ‘काठमाडौंका लागि त अझ धेरै नै ठूलो एउटा संस्कृतिक धरोहरै हो ।’

तुलाधरले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताउँदै सबैलाई मिलाएर लैजाने व्यक्तिका रुपमासमेत उनलाई सम्झिइने ढुंगानाले बताए । उनले भने- ‘ठूलो राष्ट्रिय क्षति भएको छ । ०४६ सालमा पनि वामपन्थी र लोकतन्त्रवादी कांग्रेसलाई एक ठाउँमा ल्याउनमा उहाँको ठूलो योगदान भएको थियो ।’

सबैलाई समन्वय गरेर तुलाधरले ०६२/०६३ को जनआन्दोलन र शान्ति प्रक्रियामा ठूलो योगदान पुर्‍याएको ढुंगानाले स्मरण गरे । ‘०६२/०६३ को जनआन्दोलन र शान्ति प्रक्रियामा पनि उहाँको ठूलो योगदान छ’, माओवादी वार्ताकालमा तुलाधरसँग सहजकर्ता बनेका पूर्वसभामुख ढुंगाना भन्छन्, ‘वास्त्वमा उहाँ समतावादी मान्छे हो । सबैलाई समन्वय गर्नुहुन्थ्यो ।’

आफ्नो-आफ्नो राजनीतिक मत मतान्तर भए पनि मिलेर देश चलाउनुपर्छ भन्ने मान्यता राख्ने मात्र नभई तुलाधरलाई सुसंस्कृत र एकदम भलाद्मीका रुपमा सबैले सम्झिरहने ढुङ्गानाले बताए । ‘आफ्नो-आफ्नो राजनीतिक मत मतान्तर हुन्छ । तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’, ढुंगानाले अगाडि भने, ‘उहाँ एकदम सुंसस्कृत मान्छे हो । अंग्रेजीमा पर्फेक्ट जेण्टल म्यान भन्छ नि, एकदम भलाद्मी हुनुहुन्थ्यो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *