Sajhamanch Archive

भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । सघन सहरी विकास अन्तर्गत भद्रपुरमा सडक स्तरीकरणको काम गर्ने ठेकेदार कम्पनीको लापरवाहीका कारण खानेपानी प्रदुषण बढेको छ ।

सडक विस्तार गर्दा पानी वितरणका लागि बिछ्याइएका पाइपलाइन माथि जेसिभीले जथाभावी खन्दा पाइप फुटेर पानी प्रदुषण हुनेक्रम बढेको हो । पानी प्रदुषित भएपछि उपभोक्तामा छाला चिलाउने, झाडा पखाला, निमोनिया, श्वाश्वास प्रश्वास सम्बन्धी समस्या, जण्डिसलगायत रोगले संक्रमण गरेको बताइएको छ ।

नगरका भित्री सडक स्तरीकरण कार्य दुई वर्षयता चलिरहेकोले भद्रपुर नगरका अधिकांश वडामा वितरित पिउने पानीको पाइप फुटेका छन् । यही कारण पानी प्रदुषित भइरहेको उपभोक्ताको गुनासो छ ।

चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले १५ करोड १९ लाख रूपैयाँ खर्चेर निर्माण गरेको अर्को खानेपानी ट्याङ्कीबाट पनि सडक स्तरीकरणको काम चलिरहेकाले पानी वितरण हुन नसकेको जनाइएको छ । सडक निर्माणका ठेकेदारले पुराना पाइपलाइन नै तहसनहस पारेका कारण ट्याङ्कीबाट गुणस्तरीय पानी पठाइए पनि घरघरमा पुग्न नसकेको उपभोक्ता समितिको दावी छ ।

समितिको कार्यक्षेत्रमा पिउने पानीको अभाव बढिरहेको बेला नयाँ ट्याङ्कीको निर्माणले उपभोक्ताको माग सम्बोधन गर्ने लक्ष्य राखिए पनि सडक निर्माणका कारण उनीहरुको आशा निराशामा परिणत भएको खानेपानी समितिको जिकिर छ ।

सडक स्तरीकरणका मूल ठेकेदारले पेटी ठेक्कामा काम लगाएका कारण कामदारका भरमा काम भइरहेको र जिम्मेवारी बहन गर्ने पक्ष नहुँदा पानीको पाइप लाइन जथाभावी फुटे पनि मर्मत नभएको उपभोक्ताको गुनासो छ ।

सडक निर्माण कम्पनीले फुटेका पाइपलाइन मर्मत गरिदिने बचनमात्र दिएर उपभोक्ता समितिलाई आश्वास्त पारिरहेको पाइएको छ । गैर जिम्मेवार ठेकेदारको लापर्वाही विरुद्ध समिति कडारूपमा प्रस्तुत हुन नसकेकाले अशुद्ध पानी पिउन बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ ।

यस सम्बन्धी खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी सडक निर्माण कम्पनीले फुटेका पाइपलाइन मर्मत गर्ने सहमती गरे पनि समयमा नै जिम्मेवारी वहन नगर्दा समस्या बढेको स्वीकार गरेका छन् । अध्यक्ष अधिकारीका अनुसार शहरी विकास परियोजनाका ठेकेदारले पाइप लाइनको क्षतिपूर्ति तिरेमा समिति आफैं काम गर्न तयार रहेको जानकारी दिँदासमेत सडक निर्माण ठेक्केदारले आनकानी गरिरहेको दाबी गरेका छन् ।

सघन सहरी विकास कार्यक्रम अन्तर्गत भद्रपुर नगरमा ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माणसहित सडक विस्तार भइरहेको छ । दुई अर्ब रुपैयाँमा ५ वर्षभित्र भद्रपुर नगरपालिकाभित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *