Sajhamanch Archive

एएफसीबाट नेपालले १२ लाख डलर पाउने

Published: in खेलकुद by .

काठमाडौं  । नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०१९÷२० का लागि १२ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा अघिल्लो साता सम्पन्न एएफसीको २८औं कंग्रेसले आफ्नो मातहतमा रहेका अन्य सदस्य राष्ट्रलाई प्रदान गर्दै आएको सहयोगमा समेत भारी वृद्धि गरेको हो ।

यसअघि एएफसीले आफ्ना सदस्य राष्ट्रको फुटबल विकासका लागि वार्षिक पाँचदेखि सात लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउँदै आएको थियो ।एएफसीको नयाँ निर्णयअनुसार नेपालले आगामी चालु आर्थिक वर्षका लागि १२ लाख अमेरिकी डलर सहयोग पाउने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।
एएफसीको उक्त निर्णय एक वर्षका लागि हो । एएफसीले हालै मात्र नेपाललाई एन्फा कम्प्लेक्स मैदान परिसरमा एक लाख ५६ हजार अमेरिकी डलरबराबरको फलामको ‘मुभेबल’ प्यारापिट पनि उपलब्ध गराएको छ । एक हजार ६० सिट क्षमताको उक्त प्यारापिट एएफसी आफैंले ग्लोबल टेन्डर गरी एन्फामा राखिदिएको हो ।सन् २०१९ मा एएफसीको चुनावी कंग्रेस हुने भएकाले नेतृत्वले मत प्रभाव पार्ने उद्देश्यले सदस्य राष्ट्रलाई खुसी तुल्याउन यस्तो निर्णय गरेको अनुमान गरिएको छ । तर, एन्फा प्रवक्ता राईले यो अनुमान निराधार भएको बताए ।
एएफसी कंग्रेसमा समेत भाग लिएर फर्किएका राईका अनुसार एएफसीको ‘रेभिन्यु’ बढेका कारण सदस्य राष्ट्रलाई दिइने सहयोग पनि बढेको हो ।‘एएफसीले फु्टबल खेलको विकाससँगै भौतिक संरचना निर्माण, ग्रास रूप फुटबल विकास, प्रतियोगिता आयोजना, राष्ट्रिय टोलीको तयारी, अन्तर्राष्ट्रिय सहभागितालगायतका शीर्षक बढी रकम सहयोग गरेको हो ।
क्वालालम्पुरमा सम्पन्न एएफसीको २८औं कंग्रेसले सन् २०१९ अप्रिल ६ तारिखमा एएफसीको चुनावी कंग्रेस गर्ने निर्णय पनि लिएको छ ।कंग्रेसमा सहभागीमध्ये एसियाका ४० देशले एएफसीको वर्तमान अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफालाई अर्को कार्यकालका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
एएफसीमा हाल ४७ देश सदस्य छन् । तीन महिनाअघि मात्र दक्षिण पूर्वी एसियाका केही देशको सक्रियतामा दक्षिण पूर्वी एसियन फुटबल महासंघ (स्वाफ) गठन भएको थियो ।साउदी अरेबिया फुटबल संघका अध्यक्ष डा. अब्देल विन मोहमद एजादको अध्यक्षतामा गठित स्वाफमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा पनि कार्यकारी सदस्य पदमा चयन भएका थिए । भारतसहित दक्षिण एसियाली देश (साफ) फुटबल संघका पदाधिकारीले पनि स्वाफको सदस्यता लिएका थिए ।
त्यतिबेला स्वाफले पनि नेपाललाई वार्षिक पाँच लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।तर, एएफसी कंग्रेसमा स्वाफको चर्को आलोचना भएपछि नेपाललगायत साफका राष्ट्रले स्वाफमा नबस्ने निर्णय गरेका थिए । स्वाफ एएफसी र फिफाको आसन्न निर्वाचनलाई प्रभाव पार्न गठन गरिएको भन्दै त्यसलाई एएफसी र फिफाले नै मान्यता नदिएका कारण स्वतः रद्द गरिएको पनि एन्फाले जनाएको छ । स्वाफको सदस्यता त्यागेपछि सहयोग पनि स्वतः गुमेको बताइएको छ । नेपाललाई विश्व फुटबल महासंघबाट पनि अहिले वार्षिक २२ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *