Sajhamanch Archive

कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापति बनाइए, नेताहरु असन्तुष्ट

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठकको अर्को मिति तय भएको छ । आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने टुङ्गो लगाइएको हो ।

मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । तिहार, छठलगायतका चाडपर्वहरू परेकाले महासमिति बैठकको तयारी नपुगेकाले मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

यस्तै, मंगलबार बसेको बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ ।

बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

यसैबीच, संस्थापन इतरका नेताहरुले पार्टीको विधि र प्रक्रिया मिचेर गच्छदारलाई उपसभापति मनोनित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी विधि र प्रक्रियाभन्दा बाहिर गएर निर्णय गरिएको भन्दै संस्थापन इतरका नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

‘हामीले वैठकमै पार्टीको विधि र प्रक्रिया अनुसार निर्णय गर्नुपर्छ भनेका हौं । मैले यही ढङ्गले कुरा राखें,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले पत्रकारहरुसँग भने, ‘तर निर्णय भयो । सर्वसम्मत भएको होइन ।’

पार्टीको विधानअनुसार गच्छदारलाई उपसभापति बनाउँन नमिल्ने भन्दै संस्थापन इत्तरका नेताहरुले बैठकमै असहमती जनाएका थिए ।

पार्टी एकता गर्दा भएको सहमती कार्यान्वयन गर्नका लागि बाधा अड्काउ फुकाउको बाटो अपनाउन सकिने र त्यसका लागि एउटा छुट्टै समिति जान सकिने प्रस्ताव आफूहरुले राखेको नेता केसीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *