गाडी दुरुपयोगको समाचार नक्कली हो, मैले थप सुविधा लिएको छैनः मन्त्री पण्डित
Published: (Updated: )
by .काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे । उनले भने, ‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाई केही भन्नुछैन । तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, लिनेपनि छैन ।’
उनले आफू पाएको जिम्मेवारीलाई तोकिएकै समयसिमाभित्र सम्पन्न गर्न दृढसंकल्पित रहेको पनि दाबी गरे । ‘मैले सुरुवातमै यही रिपोर्टर्स क्लब नेपालमा आएर असारभित्र प्रशासनिक संक्रमणको अन्त्य गर्छु भनेर बोलेको थिएँ, त्यसलाई अन्त्य गरेरै देखाएँ । अब पुसभित्र कर्मचारी समायोजन गर्छु भनेर बोल्दैछु । त्यो पनि पूरा गरेर देखाउँछु’, उनले भने ।
मन्त्री पण्डितले लोकसेवा आयोगको भर्ना विज्ञापन सरकारले नरोकेको जिकिर गरे । उनले भने, ‘२ महिनाको लागि उपसचिव र सहसचिवको बढुवामात्रै रोकेको हो । अरु कुनै रोकिएको छैन । लोकसेवा आयोगको कर्मचारी भर्ना प्रक्रिया जारी नै छ । अहिलेपनि ३७५ शाखा अधिकृतले स्टाफ कलेजमा तालिम लिईरहेका छन् ।’
प्रदेश लोकसेवा आयोग र स्थानीय सेवा आयोग गठन भएपछि त्यहीँबाट आवश्यक कर्मचारी पूर्ति गर्ने बाटो खुल्ला हुने पनि उनले जनाए । साथै मन्त्री पण्डितले सरकारले विकास निर्माणका मुल कामहरु अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने विश्वास दिलाए । ‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् । जनताले चाहेजस्तो परिणाम आउँछ । संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन् । सरकारले परिणाम दिनेगरि धमाधम काम गरिरहेको छ’, मन्त्री पण्डितले भने ।
आफ्नो मन्त्रालयले यही कात्तिकको ८, ९ र १० गते सम्बन्धित निकायहरुसँग तराई–मधेश समृद्धिको प्रस्ताव माग गरेको सुनाउँदै आउने मंसिर ८ गते प्रस्ताव पेश गर्न समय दिएको मन्त्री पण्डितले जनाए । उनले भने, ‘अब विनियोजित बजेटहरु विकास निर्माणका काममा तिव्रता प्रदान गर्छ । यो पहिलो वर्ष संविधान कार्यान्वयनको वर्ष भएकोले सरकार संविधान कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई चाहँदैन ।’ संविधानअनुसार तीन तहका सरकारले काम गरिरहेको पनि उनले स्पष्ट पारे ।
पण्डितले मुलुक केन्द्रबाट संघीय प्रणालीमा रुपान्तरण भएकोले रुपान्तरणको लागि गर्नुपर्ने केही कामहरु भैसकेका र केही कामहरु बाँकी रहेको बताउँदै भने,‘ अब बाँकी कामहरु पनि पूरा हुन्छन् । संघीय कानुन बन्ने चरणमा छ । प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा छन् । कानुनहरु एकै रातमा बन्ने कुरा होईन । प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरु संसदमा छन् । कतिपय निर्माण भैसकेका छन् ।’
संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताका गुनासाहरु तत्काल सम्बोधन गर्नुपर्ने भनेर निर्देशन दिएकोले आफूहरु त्यहीअनुसार अघि बढिरहेको उनको भनाई छ ।
Comments