Sajhamanch Archive

भद्रपुरमा छैट पूजाको रौनक सुरु

Published: in मुख्य समाचार, समाज, by .

भद्रपुर । पूर्वकै ठूलो छैट पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छैट पूजा सुरु हुँदैछ ।

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छैट पूजामा पाँच हजार पूजास्थल बनाइएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारीबाट हिमाल, पहाड र तराइका बासिन्दाले समान सहभागी हुने गरी पूजास्थल बनाइएको हो ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा मनाउने गरेका छन् । बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यको पूजा गरी भव्यरूपमा छैट पर्व मनाइन्छ ।

यो पर्वमा नेपालको जनकपुरधाम पछि पूजा मण्डप र जनसहभागिताका आधारमा भद्रपुरस्थित मेची नदीको छैट पूजा दोस्रो वरियतामा राखिन्छ ।

पूजाको व्यवस्थापनलाई एक साता अघिदेखि नै तिव्रता दिइएको थियो । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका ब्रतालु भक्तजनहरु यसै नदीमा छैट पर्व मनाउँदै आएकोले भद्रपुरमा यो पर्वको छुटै विशेषता रहने गरेको छ ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर गरिने पूजा अवलोकन गर्न भद्रपुरमा अहिले दिउँसै सैयौं भक्तजनको घुइँचो लाग्न थालेको छ ।

मैथिल समाज भद्रपुर आयोजक रहेको छैट पूजाको लागि भद्रपुर नगरपालिकाले संरक्षकत्व ग्रहण गरेको छ । सो पूजा व्यवस्थापनमा विभिन्न सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरु सहयोगी निकायका रूपमा रहेका छन् ।

दुवै देशका ब्रतालु भक्तजनहरुले मेची नदीमा आएर आ–आफनो पूजा स्थल बानाएर पण्डालमा पूजा कार्यका आवश्यक तयारी गरिरहेका छन् ।

मेची नदीमा पूजास्थल (घाट) व्यवस्थापनदेखि लिएर सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती जडान, शौचालय, निशुल्क पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा क्याम्प बनाउने लगायत कार्यमा मैथिली समाज अग्रसर रहेको समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।

उनका अनुसार यो वर्ष करिब एक लाख भक्तजनले पूजा स्थलको अवलोकन गर्ने छन् । भद्रपुर ५ को देवी बस्तीदेखि निर्माणधिन मेची पूल दक्षिण सुकुम्बासी बस्तीसम्मको झण्डै ३ किलोमिटर क्षेत्रमा नदीको दुवै किनारमा लामवद्ध गरी ५ हजार हाराहारी पूजा स्थल (घाट) बनाइएको छ ।

पूजा अवधिभर आपराधिक गतिविधि हुन नदिन वडा प्रहरी कार्यालय भद्रपुर र भारतको गलगलिया प्रहरी पोष्टले संयुक्त सुरक्षा गस्ती गर्ने सुरक्षा संयन्त्र तयार गरिएको जनाइएको छ ।

मेची नदीमा मनाइने छैट पर्वलाई मध्यनजर गर्दैै वडा प्रहरी कार्यालय भद्रपुरले शान्ति सुरक्षा कडा पारेको बताएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय

सुरक्षाकर्मीसँंगको सहकार्यमा सुरक्षा व्यवस्था कडा बनाइएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेवुले जानकारी दिए ।

छैट पर्वका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५० जनाभन्दा बढी प्रहरी परिचालन हुने जनाइएको छ ।

आवश्यकता अनुसार साधा पोशाकमा समेत परिचालन गरिने प्रहरीले आतिसवाजी लगायत अवान्छित गतिविधि नियन्त्रणमा लिई सुरक्षित वातावरणमा पूजा सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *