Sajhamanch Archive

सुपारी सुपरजोनद्वारा सुपारी उत्पादन र बजारीकरणबारे अन्तरक्रिया

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बुद्धशान्ति । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलले सरकारले अहिले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न चाहेको र परिवर्तनका लागि बनाइएको नीतिलाई सफल पार्न सबै एक हुनपर्ने आग्रह गरेकी छन् ।

बिहीबार झापाको बुधबारेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुपारीजोनले आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा सांसद निरौलाले यस्तो बताएकी हुन् ।

‘आत्मनिर्भरको अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण विशिष्टिकरण’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा सांसद निरौलाले भनिन्, ‘कृषिले मुलुक समृद्धि बन्ने बताउँदै सरकारले अघि सारेका नीतिहरुलाई सफल पार्न सरकारको एक्लो प्रयासमात्र सम्भव नहुने भएकाले हरेकले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेछ ।’

नीति सफल पार्न किसान, सहकारी संस्थाहरु एकताबद्ध भएर अघि बढ्न समेत उनले सुझाव दिइन् । अब नेपालमा उत्पादित कुन कुन कृषिजन्य उत्पादनको माग विदेशमा छ भन्ने पहिचान गरेर त्यसको अधिक उत्पादनतर्फ लाग्नुपर्ने उनको भनाई थियो ।

नेपाललाई कृषिप्रधान देश भन्ने नारा लगाउने तर सबैखाले कृषिजन्य वस्तुका लागि विदेशको भर पर्नुपर्ने परिस्थितिको अन्त्यका लागि सबैको एकतावद्ध प्रयास हुनुपर्नेमा सांसद निरौलाको जोड छ ।

कार्यक्रममा १ नम्बर प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले हरेक किसिमका परियोजनाहरु लक्षित समुदायमा पुग्नुपर्ने भन्दै जिल्लामा उत्पादित सुपारीको बेचबिखनबाट झापालाई आर्थिक रुपमा मजबुत पार्न सकिन्छ भन्ने सन्देश दिन आवश्यक रहेको जिकिर गरे ।

सुपारी खेतीबाट निक्कै लाभ लिन सकिने भन्दै प्रदेशसभा सदस्य बुढाथोकीले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाएर कृषि क्षेत्रमा अहिलेको परनिर्भरता अन्त्य गरी आत्मनिर्भर बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा परियोजना प्रमुख राजेन्द्रप्रसाद खरेलले सुपरजोनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि सुपारी सहकारी संघका केन्द्रीय उपाध्यक्ष विश्वनाथ ढकाल र नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले टिप्पण्ी गरेका थिए ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीसहित सुपारी उत्पादन हुने स्थानीय तहका उपाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सुपरजोनका नायव सुब्बा लक्ष्मी गुरागाईँ र स्वागत शेषराज पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *