Sajhamanch Archive

सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कर्णाली साकोसले कार्यक्षेत्र विस्तार गर्ने ll ५० हजार रुपैयाँका दरले यसैवर्षदेखि ८ जनालाई छात्रवृत्ति

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । लघुवित्त कारोबारको माध्यमबाट ग्रामीण महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षदेखि इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र बनाउने भएको छ ।

झापाका करिब २७ हजार मानिसहरुलाई शेयर सदस्य बनाएर कारोबार गरिरहेको कर्णाली साकोसले संघीय सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव १८औं वार्षिक साधारणसभामार्फत पास गर्न लागेको हो । झापा निर्वाचन क्षेत्र नं. २ (क)बाट निर्वाचित १ नम्बर प्रदेशसभाका सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भोलि मंसीर २ गते आयोजना गरिएको १८औं वार्षिक साधारणसभामा सञ्चालक समितिले सो प्रस्ताव टेबुल गर्ने भएको हो ।

ग्रामीण महिलाहरुको बाहुल्यता रहेको कर्णाली साकोसमा १३ हजार ९४३ जना सदस्य समूहमा आवद्ध महिला छन् भने सिङ्गो संस्थामा १८ हजार ४६३ जना महिला रहेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । संस्थाले १८ वटा सेवा केन्द्र सञ्चालन गर्ने स्वीकृति लिएकोमा हाल १४ वटा सञ्चालनमा रहेका र बाँकी आगामी पौषभित्रमा सञ्चालनमा आउने अध्यक्ष टसबहादुर श्रेष्ठ बताउँछन् ।

सहकारी संस्थाको मजवुती नियाल्ने औजार जगेडालगायतका अन्य कोषहरुमा २२ करोड १० लाख ३० हजार रुपैयाँ मौज्दात रहेको कर्णाली साकोसले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रममामात्र ४७ लाख २४ हजार खर्चिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तमा संस्थासँग १७ करोड ८३ लाख ४ हजार रुपैयाँ शेयर पूँजी रहेको छ भने ५६ करोड ७० लाख ५० हजार रुपैयाँ निक्षेप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा संस्थाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष श्रेष्ठले ‘कर्णाली साकोसले आफ्ना सदस्यलाई जस्तोसुकै जटिल रोग लागेको अवस्थामा पनि उपचार गर्न १० लाख रुपैयाँसम्म खर्च गरिनेछ भने सदस्यका श्रीमान वा श्रीमतीको निधनमा ४० हजार रुपैयाँ र आमाबुबा–सासूससुराको निधनमा २० हजार रुपैयाँ राहत सहयोग गर्नेछ’ भनी उद्घोष गरेका छन् ।

सम्भवतः सहकारी क्षेत्रमै पहिलो पटक कर्णाली साकोसले आफ्ना शेयर सदस्यका छोराछोरीमध्ये ८ जना मेघावी छात्रछात्रालाई ५० हजार रुपैयाँका दरले यसैवर्षदेखि छात्रवृत्ति प्रदान गर्दैछ । प्राविधिक विषय अध्ययन गर्ने ११–१२ कक्षाका ४ जना र स्नातक तहका ४ जना मेधावी छात्रछात्राले छात्रवृत्ति पाउने भएका हुन् । कर्णाली साकोसले यसै वर्षदेखि सुरु हुनेगरी हरेक वर्ष २० जना युवालाई उद्यमशील र स्वरोजगार बनाउने अर्को योजना सार्वजनिक गरेको छ भने स्थानीय सरकारसँगको साझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्ने योजना पनि बनाएको छ ।

संस्थाका सचिव भूपाल बस्नेतले १८औं वार्षिक साधारणसभा १०ः१ को अनुपातमा प्रतिनिधिमुलक हुने बताउँदै २२ सयभन्दा धेरैले सहभागिता जनाउने बताए । संस्थाले गत आर्थिक वर्षमा ३ करोड २४ लाख ४२ हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको बस्नेतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *