क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा अमेरिकी राष्ट्रपति
Published: (Updated: )
by .काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।
‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।
अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर लगभग ध्वस्त भएको छ । यो नगर पूर्णरुपमा पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।
डढेलो प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपति ट्रम्पले प्याराडाइज नगरमा सम्बोधन गर्दै डढेलोको गरेको विनासको दृश्य देख्दा आफूलाई दुःख लागेको बताए । उनले जंगलको कमजोर व्यवस्थापनका कारण विपद् निम्तिएको दाबी पनि गरे ।
जंगलको व्यवस्थापनमा सुधार गर्न वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नुपर्ने उनले बताए । राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणमा खटिएका र हराएकाहरुको खोजीमा सक्रिय रहेकाहरुको कामको प्रशंसासमेत गरे । ‘क्याम्प फायर’ करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ ।
यद्यपि यसलाई पूर्णरूपमा नियन्त्रणमा लिन अझै केही समय लाग्ने बताइएको छ ।
Comments