Sajhamanch Archive

तस्करका आँखा अब प्रतिबन्धित भारतीय खुल्ला नूनतर्फ !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । खुला नूनको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि पूर्वी नाकाबाट तस्करहरुले यसको कालोधन्दा चलाइरहेका छन् । सीमावर्ती भारतीय बजारबाट खरिद गरी नेपाली सुरक्षा अधिकारीहरुको आँखा छलेर कारोबारीहरुले नेपाली बजारमा यस्तो नून भित्र्याउने गरेका हुन् । उपभोक्तामा चेतना अभावका कारण खान अयोग्य बिना आयोडिनको नून खान बाध्य छन् । कारोबारीहरुले चौपायाका लागि भन्दैं नून आयात गर्नै गरेको बताइएको छ ।

यसैक्रममा अबैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ठूलोमात्रामा बिना आयोडिनको खुला नून पक्राउ गरेको छ । भारतीय बजार पानीट्याँकीबाट खरिद गरेर साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको नून बरामद गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । पक्राउ गरिएको नून आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाउने प्रहरी निरीक्षक ठाकुरले बताए ।

नेपाल आयातमा प्रतिबन्धित खुला नून भारतीय सीमावर्ती बजारमा खुल्लम खुल्ला बिक्री हुने गरेको छ । त्यस्तो धन्दामा संलग्नहरुले नेपाली उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

अहिले भारतका बिभिन्न कम्पनीले साबुन, डिटरजेण्ट पाउडर बनाउन प्रयोग गर्ने नून धमाधम नेपालीले खानु परेको उनीहरुको जिकिर छ । नूनको प्रयोग नजानेकै कारण आयोडिनबाट धेरै उपभोक्ता बञ्चित रहेका छन् । आयोडिनको कमि हुन गएमा शारीरिक तथा मानसिक विकास दुवैमा अवरोध आउने, आयोडिनको कमिका कारण शरीरमा गलगाँड, मानसिक र बौद्धिक क्षमतामा कमि, लाटो लठेब्रोपन, पुनरुत्पादन क्षमतामा कमि, बाल मृत्युदरजस्ता शरीरमा विभिन्न प्रकारका विकृतिहरु देखापर्ने गर्दछ ।

सरकारले आयातमा प्रतिबन्ध लगाएको भारतीय गुणस्तरहिन नून बजार अनुगमनका क्रममा नेपाली बजारमा प्रसस्त भेटिने गरेको छ । तराईका सीमाक्षेत्रमा अझैपनि अखाद्य नून धमाधम भारतबाट भित्रिने गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *