Sajhamanch Archive

कर सप्ताहमा सहकारीकर्मीलाई अभिमुखीकरण

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी, by .

बिर्तामोड । सातौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहक अन्तरगत आज बिर्तामोडमा कर तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यलय भद्रपुरको आयोजना र झापा जिल्ला सहकारी संघ लिमिटेडको सहआयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित कर तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रमा लगाउने कर तथा राजश्वका बारेमा छलफल गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरमा प्रमुख कर अधिकृत बोलराज आचार्यको प्रमुख सहजीकरणमा सहकारी क्षेत्रका लागि राज्यले निर्धारण गरेको करको दायराका बारेमा विशेष छलफल गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरमा कर अधिकृत प्रदिप कट्टेलले गाउँ, नगर र महानगरमा सहकारीलाई लाग्ने करको दरका बारेमा अवगत गराएका थिए । आयकर, व्यावसाय कर तथा घरबहाल करको व्यवस्थाका बारेमा पनि कर अधिकृत कट्टेलले सहजीकरण गरेका थिए ।

प्रमुख कर अधिकृत बोलराज आचार्यले सहभागी सहकारीकर्मी तथा अभियन्ताले कर, लेखा प्रणाली सम्बन्धी उठाएका जिज्ञासाहरुबारे प्रकाश पारेका थिए । जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सञ्चालन गरेको सो कार्यक्रमा सहभागीहरुलाई कृष्णप्रसाद मिश्रले शब्दद्वारा स्वागत गरेका थिए ।

केरखामा करदाता शिक्षा, परीक्षामा खनाल उत्कृष्ट

यसैबीच, कमल गाउँपालिका ३ केर्खामा मंगलबार करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सातौं राष्ट्रिय कर दिवस सप्ताह अन्तरगत कमल गाउँपालिकाका करदातालाई कर शिक्षा प्रदान गरिएको झापा उद्योग वाणिज्य संघ कमल गाउँपालिकाका कार्यवाहक अध्यक्ष उमानाथ भण्डारीले जानकारी दिएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका कार्यालय प्रमुख रामप्रसाद पाठकले आफूले बुझाउनु पर्ने कर समयमा नै बुझाएर देश निर्माणमा सहयोग गर्न सबै करदातालाई अनुरोध गरेका थिए ।

त्यसैगरी कर अधिकृत सन्तोष न्यौपानेले कारदाताले कर तिर्दा ध्यान दिनुपर्ने कुरा लगायत समयमा नै आफूले बुझाउनु पर्ने कर बुझाउँदा हुने फाइदाका विषयमा सहजीकरण गरेका थिए ।

करशिक्षा तालिम पछि लिइएको परीक्षामा करदाता तिलप्रसाद खनाल उत्कृष्ट भएकाले उनलाई पुरस्कृत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *