Sajhamanch Archive

मुसाविरुद्धको उजुरी पुग्यो सिडिओको टेबुलमा

Published: in विविधा by .

पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।

पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन् ।

बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन् ।

मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पुर्याएको स्थानीय ढाकाराम सुवेदीले बताए। नगरपालिका–८ र १० का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणका लागि पहल गरिदिन र क्षतिपूर्तिको माग गर्न आफूहरु प्रशासन कार्यालय आएको कृषक कोमलनारायण पौडेलले बताए ।

सो अवसरमा प्रजिअ गुरुदत्त ढकालले सम्बन्धित शाखाहरूसँग समन्वय गरेर मुसा नियन्त्रणका लागि पहल गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *