Sajhamanch Archive

भद्रपुरका सरिया परिवारद्वारा आँखा उपचार सर्वसुलभ बनाउन जमिन, भवन र उपकरण दान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

भद्रपुर । नेपाल र भारतका आँखा रोगीले सहज उपचार पाउन सकुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न भद्रपुरमा स्थापना गरिएको मेची आँखा अस्पताल संघले १८ वर्षपछि बल्ल उपचार केन्द्र खोलेको छ । संघलाई भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्तीमा दाताबाट प्राप्त जमिनमा दाताहरुकै सहयोगमा निर्मित भवनबाट आँखा उपचार सेवा सुरू भएको हो ।

यद्यपी आँखा अस्पताल संघ स्थापना गरेर भद्रपुरमा सेवा दिन नसके पनि सो संस्थाले बिर्तामोडमा अस्पताल खोलेर लाखौंलाई वर्सेनी उपचार सेवा प्रदान गरिरहेको छ । स्वर्गीय जयनारायण सरिया र शारदादेवी सरियाले भद्रपुर ५ मा निःशुल्क प्रदान गरेको एक विगाह जमिनमा सत्यनारायण सरियालगायत परिवारले ५५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेर १० लाख रुपैयाँको उपकरणसमेत जडान गरी आँखा अस्पताल संघलाई हस्तान्तरण गरेपछि उपचार सेवा सुरू गरिएको हो ।

आँखा उपचार सेवा सुरु भएको सार्वजनिक जानकारी प्रवाह गर्न लायन्स क्लब अफ भद्रपुरले आज सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा २७५ जनाले सेवा लिएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ५० जना आँखा रोगीको मोतिया विन्दु फेला परेको जनाइएको छ । क्लबका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा शिविर उद्घाटन गरिएको थियो ।

भद्रपुरबाट आँखाका बिरामी बिर्तामोडसम्म धाउनु पर्ने बाध्यता हटाउन सरिया परिवारले आँखा अस्पतालका लागि दान गरेको जग्गामा भवन निर्माण गरी उपकरण प्रदान गरेको दाता परिवारले जनाएका छन् । मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेश मित्तलको अध्यक्षता तथा दाता परिवारका सदस्य सत्यनारायण सरियाको प्रमुख आतिथ्यमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ, आँखा उपचारका लागि आर्थिक तथा प्राविधिक सहयोगी संस्था नर्वेजियन आइ केयर फाउण्डेशनका गिन रिचर्ज, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल लगायतले मन्तव्य राख्दै उपचार सेवा गुणस्तरीय हुनुपर्ने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *