Sajhamanch Archive

मन्त्री लालबावु उवाचः सन्थाल समुदायका लागि २ वटा सांस्कृतिक भवन बनाइने

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सन्थाल समुदायको लागि सरकारले सांस्कृतिक भवन निर्माण गर्ने बताएका छन् । उनले दुईवटा भवन निर्माण गर्नका लागि एक करोड विनियोजन गर्ने जानकारी दिए ।

झापा जिल्लास्तरीय सन्थाल नृत्य प्रतियोगिताको शनिबार बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री पण्डितले सन्थाल समुदायका युवाले अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनु पर्ने धारणा पनि राखे । उनले सन्थाल समुदाय नेपालको अल्पसंख्यक समुदायको रुपमा रहेको भन्दै विपन्नताबाट माथि उठ्न योग्यता बढाउनु पर्ने बताए ।

‘मैले यहाँ जति पनि युवा युवती देखे, सबै दुब्लो र पातलो हुनुहुन्छ’ मन्त्री पण्डितले भने, ‘९० प्रतिशत परिवार कठिन श्रम मजदुरी गर्नुहुन्छ, अब उत्पादनमा लाग्नुहोस् । सरकारले रोजगारीको वातावरण बनाइरहेकोले निराशा त्यागेर उत्साहित भई जातीय उत्थानमा लाग्नुस् । हिजोको अवस्थालाई बिर्सेर, नयाँ उत्साहको साथ लागिपर्नुस् ।’

नृत्यमा कनकाई प्रथम

झापामा पहिलो पटक प्रतियोगितात्मक सन्थाल नृत्य भएको हो । समुदायको भाषा, संस्कृति र कला संरक्षण गर्न नृत्य प्रतियोगिता आयोजना गरिएको सो समुदायले जनाएको छ ।

झापा जिल्लास्तरिय प्रतियोगितामा १० वटा स्थानीय तहबाट सन्थाल नृत्य समूहले भाग लिएका थिए । बिर्तामोडको देवी माविको प्राङगणमा भएको प्रतियोगितामा एभेन मारसाल सन्थाल युवा क्लव कनकाई प्रथम भएको छ । प्रथम भएको क्लवले ५० हजार नगदसहित ट्रफी जितेको छ ।

यस्तै, बाह्रदशीको नृत्य समूह दोसो र अर्जुनधारा नृत्य समूह तेस्रो भए । उनीहरुले क्रमशः २० हजार र १० हजार रुपैयाँसहित ट्रफी जिते । सन्थाल समुदायको सो नृत्य प्रतियोगितामा मौलिक भेषभुषासहित प्रस्तुति राखेका थिए । उनीहरुको नृत्यमा प्रस्तुति, भेषभुषा, नृत्य र कलाको आधारमा पहिलो, दोस्रो र तेस्रो छनोट गरिएको निर्णायक मण्डलीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *