Sajhamanch Archive

कार्यदलले ल्याएको प्रतिवेदन वर्षौं काम लाग्ने हुनुपर्छः प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीब्ररुपमा अघि बढाउने बाचा पुनः दोहोर्याएका छन् । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्रीले भने, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउँछौं ।”

प्रधानमन्त्रीले योजनावद्ध विकासका लागि मानव संसाधन प्रक्षेपण कार्यदल आवश्यक रहेकोले नै गठन गरिएको पनि बताए । “देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्ने पनि निर्देशन गरेका छन् । उनले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन पनि दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका हुन् ।

“आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ” प्रधानमन्त्री ओलीले थपे, “डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति,कृषिमा कति जनशक्ति चाहिने ! यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेमा म विश्वस्त छु ।”

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिए । “अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस्” प्रधानमन्त्रीको निर्देशन छ, “प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *