Sajhamanch Archive

सामाजिक सुरक्षा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिनको संज्ञा दिएका छन् ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् ।

आजको दिनबाट सरकारले हुँदाखाने र हुनेखाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौं” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले देशबासीलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना पनि दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *