Sajhamanch Archive

इरिक्सनको गोलमा टोटेनह्यामको आशा जीवित बार्सिलोनाको जित निरन्तर

Published: in खेलकुद by .

क्रिस्टियन इरिक्सनले बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर अन्तिम समयमा गोल ठोकेपछि टोटेनह्यामले वेम्बलीमा इन्टर मिलानमाथि १–० को जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ ।

समूह ‘बी’ बाट बार्सिलोनाले यसअघि नै नकआउट चरणको टिकट काटिसकेको अवस्थामा दोस्रो टिमका रुपमा अगाडि बढ्ने आशा कायम राख्न पनि बुधबार टोटेनह्यामसामू जितको विकल्प थिएन । जहाँ इटालियन टोलीको जब्बर रक्षापंक्ति इङलिस महारथीका लागि टाउको दुखाईको विषय थियो ।

जितको लक्ष्यमा आक्रामक रुपमा प्रस्तुत भएको टोटेनह्यामले खेलमा प्रभाव जमाउँदा गोलका लागि थुप्रै प्रयास गरेको थियो ।

तर ह्यारी विन्क्सको प्रहार पोष्टमा लागेर फर्कियो भने यान भेर्टोन्घेनको हेडले पोष्टको दिशा लिन सकेन ।

तर ७०औं मिनेटमा इरिक लामेलाको ठाउँमा इरिक्सनलाई मैदान उतार्ने प्रशिक्षकको निर्णय सही साबित भयो । इरिक्सनले डेले अलीको पासमा गोल गर्दै ८०औं मिनेटमा टोटेनह्यामलाई अग्रता दिलाए ।

घरेलु मैदानमा त्यसपछि सम्हालिन सफल हुँदा टोटेनह्यामका लागि त्यही गोल तीन अंक दिलाउन पर्याप्त भयो ।

समूहको अर्को खेलमा यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको स्पेनिस महारथी बार्सिलोनाले पिएसभी आइन्डहोभनमाथि २–१ को जित निकाल्यो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र जेरार्ड पिकेले गोल गरे । मेसीले ६१औं मिनेटमा दिलाएको अग्रतामा ९ मिनेटपछि पिकेले अर्को गोल थपेका थिए ।

समय सकिन ७ मिनेट बाँकी रहँदा ल्युक डी जङले आइन्डहोभनका लागि सान्त्वना गोल फर्काए ।

बुधबारका नतिजापछि समूहमा अन्तिम चरणका खेलहरु रोचक हुने भएका छन् । १३ अंकका साथ शीर्ष स्थानमा रहेको बार्सिलोना अघिल्लो चरणलाई छानिइसकेका बेला उपविजेताका रुपमा अगाडि बढ्न टोटेनह्याम र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ ।

टोटेनह्याम र इन्टर दुवैको खातामा समान ७ अंक छ भने १ अंकमा सिमित आइन्डहोभन प्रतियोगिताबाट बाहिरिइसकेको छ । अन्तिम खेलमा टोटेनह्यामले बार्सिलोनाको भ्रमण गर्नेछ भने इन्टरले आइन्डहोभनलाई निम्त्याउनेछ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *