राष्ट्रसंघले भन्यो– यमन ठूलो दुर्घटनाको खतरामा
Published:
by .काठमाडौं । विश्व शान्तिका लागि कार्यरत राष्ट्रसङ्घले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका बेला राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख मार्क लोककले यहाँ ठूलो दुर्घटनाको खतरामा रहेको बताएका छन् ।
सरकार पक्षधर समूहहरू तथा हुथी विद्रोहीबीच वन्दर्गाह शहर होडैडामा पछिल्ला दिनमा चर्किएको द्वन्द्वले त्यहाँ बसोबास गर्ने सर्वसाधारणलाई मानवीय सहयोगको खाँचो परिरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो । ‘यमन महत्वपूर्ण दुर्घटनाको खतरामा रहेको छ,’ लोककले प्रभावित क्षेत्रको भ्रमणपछि भनेका छन् ।
उनले यसअघि सन् २०१७ को अक्टोबर भ्रमणको समयभन्दा अहिले यमनको स्थिति ज्यादै फरक रहेको बताए । संयुक्त राष्ट्रसङ्घले यसअघि पनि यमनमा मानवीय सङ्कट विश्वकै सबैभन्दा खराब अवस्थामा रहेको बताउँदै आएको छ ।
एडेनमा मैले भोकमरीको चपेटामा परेका बालबालिकामा रोग तथा खाद्यान्न अभावका कारण निकै दुब्ला बालबालिकालाई देखेको बताएका छन् । हजारौंको संख्यामा रहेका उनीहरूले आफ्ना आँखा खोल्नसमेत नसक्ने अवस्थामा सार्वजनिक स्थलमा लडिरहेका दृश्य हृदयबिदारक रहेको उनको भनाइ छ ।
यमनमा हुथी विद्रोही र सरकारबीचको द्वन्द्वका कारण १० हजारभन्दा बढी नागरिकहरूले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर विभिन्न मानव अधिकारवादी समूहले अहिलेसम्म यमनमा कम्तिमा ६० हजार नागरिकको ज्यान गुमेको बताउने गरेका छन् । यमनमा लाखौं मानिस अन्तरिक तथा वाह्यरूपमा द्वन्द्वका कारण विस्थापित बनेका छन् ।
अनलाइन खबरबाट ।
Comments