Sajhamanch Archive

एनएमसीमा दोस्रो चरणको साधारणसभा धमाधम

Published: in सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी झापाले यो वर्षको साधारणसभालाई चरणगत बनाएर सम्पन्न गरिरहेको छ । मंसीरको पहिलो साता आफ्ना सबै सेवा केन्द्र र कार्यालयहरुमा मातहत सबै शेयर सदस्यहरु बोलाएर सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गराएको थियो । सोही अवसरमा साधारणसभाका लागि प्रतिनिधि पनि चयन गरिएको थियो ।

साधारणसभामा प्रतिनिधित्व गर्न छानिएका सदस्यहरुका बीचमा आज प्रतिवेदनमाथि गहन छलफल गर्ने र टोली नेताचयन गर्ने प्रक्रिया पूरा भएको छ । साधारणसभाको दोस्रो चरणमा गरिएको यस्तो कार्यबाट सम्पूर्ण प्रतिनिधिहरुले आफ्ना जिज्ञासाहरु टेवल गर्ने अवसर पाएका छन् ।

सोही क्रममा बिर्तामोड कार्यालय अन्तरगत छानिएका साधारणसभा प्रतिनिधिहरुले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई प्रतिवेदनमा नबुझेका विषयहरु तथा संस्थाको समग्र बस्तुस्थितिका बारेमा प्रश्न राखेका थिए ।

सहकारी ऐनमा १८ प्रतिशतसम्म शेयर लाभांश प्रदान गर्न सकिने हुँदाहुँदै किन एनएमसीजस्तो प्रतिष्ठित र सबल संस्थामा १३ प्रतिशतमात्र छुट्याइयो ? डेरी उद्योगमा गरिएको लगानीले संस्थालाई पूँजीगत घाटा गरिरहेको त छैन ? एनएमसीले सदस्यबाट पैसा लिएर सेवा दिने भनी सञ्चालनमा ल्याएको मोवाइल बैंकिङ र एसएमएस अलर्ट सुविधा किन प्रभावकारी नबनाएको ? जस्ता प्रश्नहरु साधारणसभा प्रतिनिधिहरुबाट उठाइएको थियो ।

विगत वर्षहरुमा हजारभन्दा बढी साधारणसभा प्रतिनिधिहरुले उठाउने सयौं प्रश्नहरुको सामना गर्दै आएका संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सय हाराहारी प्रतिनिधिले उठान गरेका एक दर्जन प्रश्नहरुको प्रष्ट र विस्तृत ढंगबाट प्रष्ट पारेका छन् । यस्तो विधिबाट साधारणसभा गरिँदा प्रतिनिधिका जिज्ञासा समाधान गर्न सहज भएको र सबैलाई आफ्नो जिज्ञासाको प्रष्टीकरण भएकोले उनीहरु पनि सन्तुष्ट बनेको आफूले आभाष गरेका अध्यक्ष उप्रेतीले बताए ।

एनएमसी बिर्तामोड कार्यालयका प्रमुख पारशचन्द्र भट्टराइले दिएको जानकारी अनुसार आज आइतबार बिर्तामोड कार्यालयसहित शनिश्चरे, दूधे, सुरुङ्गा शाखामा दोस्रो चरणको साधारणसभा सम्पन्न गरिएको छ ।

मंसीर १४ गते बाहुनडाँगी, भद्रपुर, काँकरभिट्टा, इँटाभट्टा, गोलधापसहित ८ वटा कार्यालयमा सोही प्रकृतिको साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ ।

यसअघि मंसीरको पहिलो साता भएको पहिलो चरणको साधारणसभा बैठकमा सञ्चालक समितिका सदस्य लक्ष्मी उपाध्याय काफ्लेले सञ्चालक समितिको प्रतिवेदन टेबुल गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *