Sajhamanch Archive

निगमको मासिक नाफा १ अर्ब नाघ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल आयल निगमले एकै महिनामा अर्ब रुपैयाँभन्दा बढी नाफा गर्ने भएको छ ।

केही दिनअघि गरिएको मूल्य समायोजनपछि निगमलाई पाक्षिक रुपमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा हुने भएको हो ।

गत शनिबारदेखि १५ दिनको लागि लागु हुने नयाँ मूल्य एवं पेट्रोल डिजेल र मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर घटाई समायोजन गरेपश्चात् निगमलाई ग्यास सिलिन्डरमा मात्र घाटा छ । एलपीजी ग्यासमा २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा छ ।

निगमले हाल पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा, मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ ४७ पैसा तथा हवाई इधनमा आन्तरिकतर्फ १३ रुपैयाँ ६१ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ४७ रुपैयाँ ८७ पैसा नाफा छ ।

समग्रमा नाफा र घाटा मिलाउदाँ निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुने देखिएको जनाएको छ ।

निगमले हालको नाफाले आफूलाई राहत मिलेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा हाल निगमलाई धेरै राहत मिलेको हो ।

विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी एक महिनामा नै निगमलाई २ अर्बभन्दा बढी घाटा रहेको थियो ।

चालु आवमै निगमले करिब ३ अर्ब ८४ करोड रुपैयाँ घाटा बेहोरेको छ । यसअघि खरिद मूल्य अत्यधिक बढेको बखतमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थिएन ।

निगमले सरकार तथा सम्बन्धित संसदीय समितिको आग्रहलाई गम्भिरतापूर्वक लिएको उल्लेख गरेको छ ।
हाल कच्चा तेलको मूल्य अत्यन्त अस्थिर छ । नेपाल आयल निगमले आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने बताएको छ ।
हाल भारतमा भन्दा नेपालमा तेलको मूल्य उच्च छ । रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १२ रुपैयाँ ३२ पैसा फरक छ भने डिजेल नेपालमा १५ रुपैयाँ ७१ पैसा सस्तो छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *