Sajhamanch Archive

‘वर्तमान सरकार क्रिकेटको टी–२० नभई टेष्ट म्याच खेलिरहेको छ’ : मन्त्री आङ्वो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

मेचीनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले नेपालको सामन्ती अर्थ व्यवस्थालाई चिर्दै समाजवादमा आधारित अर्थतन्त्र निर्माणमा सहकारीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्वोले यस्तो बताएका हुन् । मन्त्री आङ्बोले संविधानको प्रावधानअनुरुप नै तीनखम्बे अर्थतन्त्रलाई सरकारले अंगिकर गरेको प्रष्ट पार्दै भनेका छन्, ‘सहकारीलाई उत्पादनसँग जोडेर विदेशमा श्रम बेच्न गएका लाखौं युवालाई स्वदेशमा नै रोजगारीको प्रबन्ध गर्ने योजना रहेको छ ।’

एनएएमसी उत्पादनसँग जोडिएर सदस्यको हित प्रवद्र्धन गर्दै आएकोमा सराहना गदैं मन्त्री आङ्बोले भने, सरकारले गर्नुपर्ने कतिपय काम एनएमसीलगायत सहकारीले गरेर आत्मनिर्भर अर्थव्यवस्थाको सूत्रपात गरिरहेका छन् ।

अबको युग आर्थिक क्रान्तिको भएको बताउँदै मन्त्री आङ्बोले भने प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए । अहिले पनि नेपाली कृषक तीन हजार वर्ष पुरानो कुटो कोदालो प्रविधिमा रहेकाले त्यसको अन्त्य गरेर कृषिलाई प्रविधि मैत्री बनाउँदै निर्वाहामुखीबाट कृषिबाट व्यावसायिक कृषिमा फड्को मार्नुपर्ने उनको भनाई थियो । नेपाली कृषि वस्तुको निर्यातमा जोड दिदै अलैंची, अदुवा चिया लगायतका वस्तु तेस्रो मुलुक निर्यात बढाउनु पर्नेमा उनले जोड दिए ।

राष्ट्र बलियो बनाउन सहकारीको साथ सहयोग चाहिने भएकाले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नेतृत्वमा प्रदेश सरकारको लगानीमा धुलो दूध उद्योग खोल्ने योजना रहेको उनले प्रष्ट पारे । धुलो दूध उत्पादन गर्ने प्लान्ट बनेपछि किसानको दूध नबिक्ने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेकाले अन्य समृद्ध सहकारीसमेतको लगानीमा दुईवर्ष भित्रै पाउडर प्लान्ट उद्योग सञ्चालन गरिसक्ने गरी नेतृत्व लिन र योजना बनाउन एनएमसीका सञ्चालकहरुलाई उनले आश्वस्त पारे ।

केही समय नेपाली काँग्रेसको आलोचनामा खर्चिएका मन्त्री आङ्वोले नेपाली काँग्रेसको हारको मुख्य कारण कमजोर आर्थिक नीति रहेको टिप्पणी गरे । खुला अर्थतन्त्रको नाममा सरकारी उद्योग, शिक्षा, निजीकरण गरेर देशको आर्थतन्त्र डामाडोल पारेको आरोप लगाए । भृकुटी कागज उद्योग, छालाजुत्ता कारखना, गोरखकाली रबर उद्योग सबै अहिले टाट पल्टेर थला परेको उनको आरोप छ ।

एक फरक प्रसंगमा उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार टी–२० क्रिकेट प्रतियोगिताजस्तो नभएर टेष्टजस्तो लामो समयसम्म चल्ने प्रतियोगिता रहेको दाबी गरे । ६ महिना, ९ महिनाका लागि यो सरकार निर्माण भएको होइन भन्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहाले सोल्टी होटलमा नाचेको भरमा यो सरकार नपल्टिने दाबीसमेत गरे ।

वर्तमान सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको र अहिले सरकारको काँधमा संघीयता कार्यान्वयन गर्ने चूनौती र समृद्धिको सपना पुरा गर्नुपर्ने दायित्व रहेको प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले अब बारी बाँझो राखेर तरकारी किन्न भारतीय बजार धाउनुपर्ने परिपाटीको अन्त्य हुनुपर्ने आग्रह गरे । सहकारीहरुले झापाको आवश्यकता पूरा गर्न लाग्नुपर्ने बताउँदै बुढाथोकीले सबैलाई सहकारीमार्फत् आत्मनिर्भर बन्न आग्रह गरे ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हरेक व्यक्तिले आफ्ना बानी व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए । खाने संस्कारमा तत्काल परिवर्तन गर्दै दूध बेचेर आफ्ना अतिथिलाई कोक, फेण्टा र स्प्राइट खुवाउने परम्परा तत्काल परिवर्तन गर्न उनको सुझाव थियो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकार राम्राराम्रा काममा सहकारीसँग साझेदारी गर्न तयार रहेको प्रष्ट पारे । अहिले स्थानीय सरकारका माझ धेरै चुनौती रहेको भन्दै उनले कृषिलाई व्यवस्थित गर्न, भारतीय बजारबाट आयात हुने विषादीयुक्त अखाद्य वस्तु नियन्त्रण गर्न नगरपालिका सक्रिय रहेको बताए । उनले मेचीनगर नगरपालिका हरेक सहकारी संस्थासँग काँधमा काँधमा मिलाएर अघि बढ्ने कुरामा ढुक्क हुन सबै सहकारीकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले एनएमसी फराकिलो मन लिएर अघि बढेको संस्था भएकाले थुप्रै सहकारी संस्थाका लागि मार्गदर्शक र महाविद्यालय रहेको चर्चा गरेका थिए । बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष महेन्द्रकुमार गिरी, कृषि सहकारी संघका केन्द्रीय सदस्य मिना ढकाललगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा स्वास्थ्य सुरक्षाको सुरुवात, एनएमसी रजत वर्षको समीक्षा, सदस्य विस्तार, डेरी व्यवसायमा एनएमसी, सदस्य राहत वितरण, रजत वर्ष स्तम्भको निर्माण लगायतका महत्वपूर्ण योजनाहरु प्रस्तुत गरिएको छ ।

संस्थाले सदस्य बन्ने र कारोबारमा संलग्न हुने संख्यामा उल्लेख्य बृद्धि गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै ११ हजार ९६ जना नयाँ सदस्य थपिएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाको शेयरपूँजी ५२ करोड २ लाख ४८ हजार ९०० रुपैयाँ कायम रहेको छ । संस्थाको निक्षेप दायित्व ४ अर्ब ५७ करोड ८७ हजार ११३ रुपैयाँ छ । त्यस्तै ५ अर्ब ८१ लाख ३ हजार १८१ रुपैयाँ संस्थाको लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले आमन्त्रित पाहुना तथा साधारणसभाका प्रतिनिधिहरुलाई शब्दले स्वागत गरेका थिए । उद्घाटन समारोहको सञ्चालन एनएमसी सञ्चालक सदस्य भगवती घिमिरे मैनालीले गरेकी थिइन् ।

५६ पिन्ट रगत संकलन

संस्थाको स्वास्थ्य समितिले रजत महोत्सव तथा २६औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन भएको छ ।

साधारणसभा परिसरमा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८ महिला र ४८ पुरुषले रक्तदान गरेको समितिका संयोजक दीलिप सुवेदीले बताए । रक्तदाताहरुलाई आजै प्रमाणपत्र प्रदान गरिएको छ ।

रजत जयन्ती स्तम्भ शिलान्यास

संस्थाको रजत महोत्सवको अवसरमा निर्माण गरिने रजत जयन्ती स्तम्भको आजै शिलान्यास गरिएको छ । संस्थाले मेचीनगर १४ दुहागढीमा सञ्चालन गर्न लागेको एकीकृत नमूना कृषि परियोजना स्थलमा रजत जयन्ती स्तम्भको शिलान्यास गरिएको हो । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले वैदिक विधिपूर्वक स्तम्भको शिलान्यास गरिदिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *