Sajhamanch Archive

आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट

Published: (Updated: ) in खेलकुद by .

मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बास्केटबल, उसु र करातेको जिल्लास्तरीय छनोट शनिबार सम्पन्न भएको छ ।

विर्तामोडस्थित देवी माविको खेल मैदानमा आयोजित बास्केटबल पुरुषतर्फको छनोट प्रतियोगितामा २५ जनाले भाग लिए ।
प्रतिस्पर्धीमध्येबाट १० जना खेलाडी छानिएका बास्केटबल संघ झापाका अध्यक्ष तथा छनोट समिति संयोजक प्रकाश लिङदेनले जानकारी दिए ।
त्यसैगरी भद्रपुरस्थित मेची रंगशालाको कर्भड हलमा उसु पुरुषतर्फ ३५ र महिलातर्फ २० जना खेलाडीले सहभागिता जनाए । प्रतियोगिताबाट पुरुषतर्फ १३ र महिलातर्फ १० जना छानिएका छनोट समिति संयोजक राजेन्द्र घिमिरेले बताए । त्यस्तै विर्तामोडस्थित अतिथि सदन भवनमा आयोजित छनोट प्रतियोगितामा कराते पुरुषतर्फ ७० र महिलातर्फ ३० जनाले प्रतिस्पर्धा गरे । प्रतिस्पर्धीमध्ये पुरुषतर्फ ११ र महिलातर्फ १० जना खेलाडी छानिएका छनोट समिति संयोजक तथा करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए ।

छनोटमा परेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त), सदस्य ज्ञानेन्द्र राई, कराते प्रशिक्षक कालु मेचे, उसु प्रशिक्षक रविन श्रेष्ठ, इन्द्र ओलीलगायतले शुभकामना दिए । झापाबाट छानिएका खेलाडीले पहिलो चरणमा एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् । प्रदेशबाट छानिने खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष प्रदेश नम्बर ५ का विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *