Sajhamanch Archive

निर्मला प्रकरणमा आईजीपीको जवाफ : अनुसन्धानमा गल्ती भेटे बर्दी खोलिदिनुस्

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ  । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्याका विषयमा आफूले कुनै कमजोरी नगरेको दाबी गरेका छन् ।

सोमबार संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा उनले पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान साँघुरिएको जानकारी दिदै छिटै परिणाम आउने विश्वास व्यक्त पनि गरे । बैठकमा सांसदहरुले विभिन्न प्रश्नहरु राखेका थिए ।

सासंद चक्र स्नेहीले निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै न्याय नपाइने भन्दै निर्मला हत्याको सत्यतथ्य बाहिर ल्याउन माग गरे ।

यस्तै सासंद रमेशजंग रायमाझीले निर्मला बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको हात रहेको दाबी गर्दै नमिता सुनिता हत्याकाण्ड दोहोरिएको बताए ।

सासंद कालीबहादुर मल्लले प्रहरीलाई दाँत नभएको कुकुरको संज्ञा दिए । प्रहरीको उज्यालो छवि धमिलिएको त होइन ? भन्ने प्रश्न गर्दै मल्लले दाँत नभएको कुकुरले टोक्न नसक्ने बतए । सासंद प्रमिला यादवले आईजीपी खनालले सुरक्षा दिन नसके राजीनामा दिन माग गरिन् ।

प्रश्नहरुको जवाफ दिदै आईजीपी खनालले पछिल्लो समय मुलुकमा भएको अपराधमा अधिकांश घटनाको अनुसन्धानमा प्रहरी सफल भएको बताए । निर्मला हत्याकाण्डको अनुसन्धानमा कतिपय प्रमाण नष्ट भएको अवस्थामा अनुसन्धान जटिल बनेको स्वीकार गर्दै ढिलोचाँडो हत्यारा कानुनी दायरामा ल्याइछाड्ने बताए । ‘मैले अनुसन्धानका क्रममा कसैलाई दबाब दिएको प्रमाणित हुन्छ भने ससंदबाटै मेरो बर्दी खोल्दिए हुन्छ । अनुसन्धान निष्पक्ष र दबाबरहीत छ ।’

निर्मला प्रकरणमा दोषीको खोजी गरिरहेको प्रहरीले पछिल्लो समय प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरूको डिएनए टेस्ट समेत गरिसकिएको छ । प्रहरी हिरासतमा रहेका उनीहरूसँग केही दिन अघि महानिरीक्षक खनाल आफैले बयान लिएको विषय सार्वजनिक भएको थियो ।

कञ्चनपुरकी किशोरी निर्मला साउन १० गते बेपत्ता भएकी थिइन् । ११ गते बलात्कार गरी हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले घटनाका दोषी पत्ता लगाउन सकिरहेको छैन ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *