Sajhamanch Archive

यसरी निर्माण हुँदैछ, प्रदेशकै नमुना बौद्ध गुम्बा

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एक कै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ ।

वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा) र गुम्बाको संरचना निर्माणकार्य अहिले धमाधम भइरहेको छ । साविक टिमाई शिविरको मध्यभागको २३ कट्ठा जमिनमा पेनोर रिन्पोक्षे बुद्ध धर्मावलम्वी समाजको सहयोगमा पाल्यूल ङाग्युर डुक साङ्गक्षोलिङ्गबौद्ध गुम्बाको निर्माण कार्य धमाधम भइरहेको हो ।

स्थानीय जग्गादाता र दानविरहरुको सहयोगमा प्राप्त २३ कट्ठा जमिनमा बौद्ध गुम्बा र लामा पढ्ने विद्यालय सेडाको निर्माण कार्य तिब्र रुपमा अगाडि बढेको पेनोर रिन्पोक्षे बुद्धिष्ट समाज बुद्धशान्तिका अध्यक्ष भक्त ग्लानले जानकारी दिए । उनले भने “बुद्धशान्ति गाउँपालिकाले दिएको ४ लाख रुपैँयाबाट वरिपरिको पर्खाल निर्माण भईसकेको छ ।”

भूमिशान्ति, विश्वमा शान्तिको कामना, समस्त प्राणीको उद्दारको कामना गर्दे साथै गाँउपालिकाको नामपनि बुद्धशान्ति रहेको, बुद्धशान्तिमा लामा बस्ने गुम्बाको अभाव भएको र बुद्ध नेपालमै जन्मिएको भएकोले बुद्धशान्ति गाँउपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउँन बौद्धगुम्बा र बौद्धपार्क पनि निर्माण गर्न लागिएको अध्यक्ष ग्लानले बताए । उनले थपे “आसपासमा रहेको खाली जमिनका लागि गाँउपालिकासँग समन्वय गरिरहेको र जमिन प्राप्त हुन सकेमा बौद्ध पार्क बनाउने काम अगाडि बढने छ ।”

वि.स. २०७४ पौष २१ गते शुक्रबार बौद्ध धर्म गुरु खेन्छेन नाम्डोल रिम्पोक्षेले भूमिपूजा सालाङसी गरेर गुम्बाको शिलान्यास गरेका थिए । धर्म गुरु रिम्पोक्षेको नेतृत्वमा सुरु भएको निर्माण कार्यमा स्थानिय समाजसेवी तथा संयोजक भक्त ग्लान तामाङ्ग परिवारले १० कट्ठा जमिन प्रदान गरेपछि निर्माणको काम सुरु भएको सचिव तिलक पाख्रीनले बताएका छन् । स्थानीय दानविरहरुले सहयोग गरेको जग्गामै अन्यदानविरले गरेको सहयोग रकम जोडेर १३ कट्ठा जमिन पनि किनिएको हो । गुम्बा निर्माणका लागि ७५ प्रतिशत लगानी नाम्डोल खेन्छेन रिम्पोक्षेको संस्थाले गर्नेे छ भने २५ प्रतिशत स्थानीयको तर्फबाट हुँदै गरेको आर्थीक संयोजक मेन बहादुर थिङले बताए ।

यसलाई सबैको साझा अभियान बनाउन आग्रह गर्दै स्थानीय गोकुल गुरुङ्ग भन्छन् “बौद्ध गुम्बा निर्माण हुनु बुद्धशान्तिको मात्र नभएर प्रदेश एककै गौरवको विषय हो, साथै संसारमै यस ठाँउको चिनारी पुग्छ, फलस्वरुप पर्यटक भित्रिन्छन्” उनी थप्छन् “पर्यटक आउनु भनेको स्थानीयको जीवनस्तर बढ्नु हो ।”

स्थानीय खेम सारु आफ्नो ठाँउमा बौद्ध गुम्बा, सेडा र पार्क बन्दै गरेको देखेर हर्षित भएका छन् । त्यसैगरी दावा दोर्जे लामाले यो क्षेत्र सबैको ट्रान्जिट पोइन्ट भएकाले बुद्धशान्तिको विकासको लागि यस्ता धार्मीक पर्यटकीय स्थलले विशेष भूमिका खेल्ने बताए ।

यस क्षेत्रमा सुरक्षाको आवश्यक रहेको भन्दै लामाले साविक शान्तिनगरमा प्रहरी चौकीको स्थापना गर्नुपर्ने कुरामा जोड दिएका छन् । दीर्घकालिन रुपमा यी विभिन्न योजनालाई अगाडि बढाउन स्थानीय, सरोकारवाला निकाय र गाँउपालिकाले समन्वय गर्न आवश्यक छ ।
यता २८५५ औं ज्या चरा वर्ग, तमु ल्होसार, सोनाम ल्होसार, श्ग्याल्वो ल्होसारको उपलक्ष्यमा ३ दिवशीय महाकाल पूजा कार्यक्रम यहि पौष १० गतेदेखि १२ गते सम्म हुने अध्यक्ष ग्लानले जानकारी दिए ।

धार्मिक कार्यक्रममा बौद्धधर्म गुरु, खेन्छेन नाम्डोल रिम्पोक्षे साथै टुल्कु, खेन्पो, लोकेन र अन्य बरिष्ठ ९ बर्षदेखि १९ बर्ष सम्म गुफाज्ञान प्राप्त लामा र आनीलाहरुको उपस्थिति रहने आयोजकले समितिले जनाएको छ ।

ठूलो महत्व बोकेको सो योजना सफल बनाउन तथा आन्तरिक एवं वाह्य पर्यटकलाई अवलोकन गराउन सडक, पानी र आवासकोराम्रो प्रबन्ध हुन जरुरी छ । जस्का लागि स्थानीय निकाय, प्रदेश सरकार र केन्द्रिय सरकारले चासो दिनुपर्छ । सो क्षेत्रमा योजनागत कार्य सम्पन्न भए ठूलो संख्यामा बाह्य पर्यटक भित्रिने निश्चित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *