रोल्पाली महिलाले ओल्लो प्रशोधन गरी कपडा उत्पादन गर्दै
Published: (Updated: )
by .झापा । आफ्नै देशमा उपलब्ध हुने कच्चा पदार्थबाट उपयोगी सामग्री बनाउन रोल्पा जिल्लाका महिला जुटेका छन् ।
रोल्पा माडीका महिलाहरु स्थानीयस्तरमा प्रशस्त मात्रामा पाइने ओल्लो प्रशोधन गरी कपडा उत्पादनमा जुटेका हुन् । ओल्लोको कपडा नेपाली बजारमा पनि निकै महंगोमा बिक्री हुने गरेको छ । यसबाट दौरा–सुरुवाल, टोपी र कोटलगायतका पोशाक तयार गरिन्छ ।
ओल्लोको निर्यात व्यापारमा समेत जोड दिँदै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले रोल्पाका घरेलु उद्यमी महिलालाई ओल्लोको कपडा उत्पादनमा प्रोत्साहित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालअन्तर्गतको सरकारी निकाय केन्द्रले देशभरि स्थानीय साधन–स्रोतबाट उपयोगी सामग्री उत्पादन गर्न र बजारीकरणमा जोड दिन विज्ञ प्रशिक्षकबाट प्रशिक्षण सञ्चालन गर्दै आएकोमा यसै साता रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँमा महिलालाई ओल्लो प्रशोधन तथा कपडा उत्पादनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुका साथै उद्यमी महिलालाई प्रशोधन तथा कपडा तयार गर्ने मेशिन प्रदान गरेको केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले जानकारी दिए ।
तालिम उद्घाटनकै अवसरमा तालिममा सहभागी महिला उद्यमीका लागि मोटरजडित तीन थान बिटर मेशिन र तीन सेट स्पिनिङ मेशिन प्रदान गरिएको दाहालले बताए । केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ती मेशिन स्थानीय जागरण ओल्लो उत्पादन समूहलाई हस्तान्तरण गरेका थिए ।
तालिम उद्घाटन तथा मेशिन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राणाले विश्व–बजारमा जैविक उत्पादनहरुको माग र आकर्षण बढ्दै गएकोले जैविक उत्पादनमा जोड दिन आवश्यक रहेको र केन्द्रले देशैभरि ठाउँअनुसार स्थानीय स्तरमा उपलब्ध हुने वनस्पतिबाट के उत्पादन गर्न सकिन्छ त्यसैसम्बन्धी तालिम सञ्चालन र घरेलु उद्योग सञ्चालनका लागि प्रोत्साहित गर्ने गरेको बताए । ‘नेपालका विभिन्न ठाउँमा विभिन्नखाले वनस्पति पाइन्छन्, जसबाट उपयोगी सामग्री उत्पादन गर्न सकिन्छ, त्यस्ता सामग्री अन्तर्राष्ट्रिय बजारमा पनि सहज ढंगले उचित मूल्यमा बिक्री गर्न सकिन्छ’, राणा भन्छन्– ‘ओल्लोको त झन् बढी माग छ, यसको बजार विस्तारमा केन्द्रले पनि सहयोग गर्छ, तपाईंहरु शीप सिक्नूस्, सामग्री उत्पादन गर्नूस्, बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्छ ।’
परम्परागत रुपमा उत्पादन हुँदै आएको ओल्लोको कपडाको माग स्वदेशी बजारमै पनि निकै छ । मागअनुसार कपडा उत्पादन हुन नसकिइरहेको परिप्रेक्ष्यमा केन्द्रले प्रदान गरेको प्रशिक्षण र मेशिनबाट ओल्लोको कपडा उत्पादन बढ्ने विश्वास स्थानीय व्यवसायीहरुले गरेका छन् । कार्यक्रम संयोजक हरिसरा घर्तीमगरले उद्यमी महिलाहरुले प्राप्त शीप र मेशिनको भरपूर उपयोग गर्ने प्रतिबद्धता जनाइन् ।
Comments