Sajhamanch Archive

मेचीनगर खुल्ला दिशामुक्त घोषणा

Published: (Updated: ) in स्थानीय तह by .

काँकरभिट्टा । जनसंख्या तथा भौगोलिक दृष्टिकोणले झापाको अन्य स्थानीय तहभन्दा सवै भन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका विहिबारदेखि खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । मेचीनगर नगरपालिकाले ६ नम्वर वडा कार्यालय परिसरमा आयोजना गरेको खुल्ला दिशामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगरलाई खुल्ला दिशामुक्त नगर घोषणा गरेका थिए ।

खुल्ला दिसामुक्त नगर घोषणाको लागि जिल्ला सरसफाइ स्वच्छता समन्वय समितिले गुणस्तर र शौचालयको अवस्था अध्ययन गरि घोषणा अनुमति प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । मंसिर २७ गते शतप्रतिशत घरधुरीमा शौचालय भएको हुँदा गुणस्तरण निर्धारणका लागि नगरपालिकाबाट पत्रचार गरिएकोमा मंसिर २६ गते जिल्ला सरसफाइ तथा स्वच्छता समितिको निर्णयले मेचीनगर नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा गर्न उपयुक्त ठहर गरेको थियो । घोषणासभामा शान्ति उपाध्याय मोहनप्रसाद लुईँटेल, रुद्रवहादुर न्यौपाने, प्रमिला पौडेल र टेकनाथ पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मेचीनगरमा २०६९ सालबाट एकघर एक शौचालयको अभियान अघि सारिएको भए पनि बढ्दो बसाई सराई र बिपन्न परिवारहरुको चर्पी निर्माणमा सचेतनाको कमि जस्ता कुराहरुले समयमै नगरलाई खुल्ला दिशामुक्त नगर घोषणा गर्न समय लागेको उपप्रमुख मिना पोखरेल उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ  ।

२०७० सालमा अभियानको रुपमा शुरु हुँदाको अवस्थामा यस नगरपालिकाको घरधुरी संख्या ११ हजार १ सय ७३ रहेको थियो । जसमा शौचालय नभएका घरधुरी संख्या २१ प्रतिशत रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । टोल विकास संस्थाहरुको सहयोगमा एकघर एक शौचालय निर्माणलाई महत्वका साथ अभियान सञ्चालन गरिदा केही टोलहरुमा स्वतःस्फूर्त शौचालय निर्माण गरि अभियानलाई अघि बढाएका थिए । ०७३ सालमा वडा नागरिक मञ्च समेतको पहलमा शौचालयको अवस्थाका बारेमा घरधुरी सर्वेक्षण गरि यो अभियान लाई प्रभावकारी बनाउन वडा नागरिक मञ्चको अगुवाईमा कडाइका साथ शौचालय निर्माण गर्न प्रेरित गर्दे वडालाई खुल्ला दिसामुक्त वडा घोषणा गर्ने प्रयास गरिएको थियो । फलस्वरुप केहि संख्यामा थप शौचालयहरु निर्माण भएको उपप्रमुख पोखरेलले जानकारी दिईन् ।

पछिल्लो समय २०७५ सालमा झापा जिल्लालाई नै खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान चलिरहँदा यस नगरपालिकाले निर्माण हुन बाँकी रहेका बिपन्न परिवारको शौचालय निर्माणका लागी विपन्न घरपरिवारलाई वडा कार्यालय मार्फत निर्माण सामाग्री सहयोग गरि हाल मेचीनगर नगरपालिका सबै घरधुरीमा शौचालय रहेको छ । सरसफाई गुरुयोजना २०६८, वातावरण मैत्री स्थानीय सुशासन ढाँचा २०७०, पूर्ण सरसफाई मार्गदर्शन २०७३ र दिगो विकास लक्ष्यलाई मुख्य आधार मानी दिगो सरसफाई र स्वच्छताको प्रवद्र्धनवाट प्रदूषणमुक्त स्वच्छ समाज र स्वच्छ जीवन वनाई मानव समृद्धि कायम गर्ने परिकल्पना यस मेचीनगर नगरपालिकाको रहेको छ ।

यस क्षेत्रमा संलग्न टोल विकास संस्था, वडा नागरिक मञ्च, सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेविका साथै अन्य सरोकारवाला निकायहरुले विगतदेखि घरधुरी स्तरमा शौचालय निर्माण र सरसफाई सम्वन्धि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरि पूर्ण सरसफाईका लागि आवश्यक यो खुड्किलो उक्लन सफल भएको उपप्रमुखको प्रतिवेदनमा उल्लेख छ । मेचीनगर नगरपालिका राजमार्गसँगै रहेको र तीव्र शहरीकरण भैरहेको नगरपालिका हुनुका साथै औद्योगिक नगर वन्ने क्रममा समेत रहेकोले शहरी सरसफाइ व्यवस्थापन एवम् सार्वजनिक क्षेत्र व्यवस्थापनमा सजगता साथ लाग्नुपर्ने नगरपालिकाको भनाई छ ।

नगरपालिकाका प्रमुख विमल आचार्यको सभापतित्वमा भएको घोषणा सभामा राष्ट्रिय  सरसफाइ स्वच्छताका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेले नगरपालिकालाई कदर पत्र प्रदान गरेका थिए भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले नगरपालिकालाई प्रदान गरेको प्रमाणपत्र प्रमुख अतिथि पोर्तेलले नगरप्रमुख आचार्यलाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेलगायतले बोलेका थिए भने नगरप्रमुख आचार्यले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगरका उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रमुख प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मीलगायत जनप्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *