Sajhamanch Archive

कांग्रेसका शीर्ष नेताको सरकारप्रति आक्रोश

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको झण्डै तीन वर्ष पछि महासमिति बैठक शुरु भएको छ । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको झण्डै तीन वर्षपछि काठमाडौंमा शनिबारबाट महासमिति बैठक शुरु भएको हो ।

बैठकको उद्घाटन समारोहमा प्रतिपक्षी कांग्रेसका नेताहरु ने क पा नेतृत्वको सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन् । उनीहरुले कम्युनिष्ट नेतृत्वको सरकार संविधान विपरित काम गरिरहेको पनि दाबी गरेका छन् ।

उद्घाटन समारोहमा सभापति देउवाले ने क पा नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको दोहोर्याउँदै केपी ओली नेतृत्वको सरकार गठनपछि मुलुकको शान्ति सुरक्षाको अवस्था अत्यन्तै दयनीय देखिएको टिप्पणी गरे । ‘‘नेपाल कम्युनिष्ट पार्टीको सरकार अधिनायकवाद उन्मुख छ । यो सरकार संविधान संशोधन गरेर असन्तुष्टिलाई हटाउने तर्फ ध्यान नदेखाउनु दुःखद कुरो हो । शान्ति सुरक्षाको स्थिति दयनिय छ । हत्या, अपहरण, बलात्कारका घटना बढेका छन्,’’ उनले भने ।

देउवाले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरेको आरोप लगाए । उनले न्यायका लागि टाँसिएका तस्बिर च्यात्नुले निर्मलाका हत्यारालाई सरकारले नै समर्थन गरेको पुष्टि हुदै गएको समेत बताए । ‘‘न्याय दिनु त कहाँ हो कहाँ उल्टै न्याय माग्दै टाँसिएका तस्बिर च्यात्नुले सरकार नै निर्मलाका हत्यारालाई बचाउन लागिरहेको पुष्टि हुन्छ’’ देउवाले भने ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारलाई काम गर्ने मेसो समेत थाहा नभएको टिप्पणी गरे । ‘‘यल्लाई काम गर्ने मेसै छैन,’’ उनले भने । तत्कालिन एमाले र माओवादीले चुनाव अघि बाँडेका सपना पूरा गर्नुको साँटो गलत बाटोमा हिँडिरहेको पौडेलको भनाइ थियो । ‘‘कम्युनिष्टको हातमा सत्ता गएको छ । सत्तामा जानु अघि उनीहरुले जुन सपना देखाएका थिए उनीहरुको त्यो बाटोतर्फ गइरहेका छैनन् । नयाँ वर्ग जन्माउनेतर्फ गइरहेका छन् । सारा शासन यन्त्रलाई आफ्नो कार्यकर्ताको लागि राज्यको ढुकुटी प्रयोग गरेर नयाँ शोषक वर्ग जन्माउने तिर यो सत्ता गइरहेको छ ।’’

उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई भित्तामा टांस्ने साईनबोर्ड बनाइदिन्छु भनेको प्रसंग उल्लेख गर्दे सरकारका क्रियाकलाप विरुद्धको सशक्त लडाईका लागि संगठन सुदृढ हुनुपर्ने बताए । संगठन सुदृढ नभई ससक्त प्रतिकार गर्न नसकिने भन्दै उनले पार्टी एकतामा जोड दिए ।

उपसभापति निधिले महासमिति बैठकपछि सरकारका क्रियाकलाप विरुद्ध पुष, माघ र फागुन महिनामा गरी ३ पटक सडक आन्दोलनको तयारी भइरहेको पनि जानकारी दिए । कांग्रेसका अर्का उपसभापति विजयकुमार गच्छदारले सरकार आफै नांगिएको टिप्पणी गरे । उद्घाटन समारोहमा उनले भने, ‘‘सरकारका बारेमा मैले धेरै केही बोल्नै पर्दैन । यो सरकार आफै नांगिएको छ ।’’

महामन्त्री डा। शशांक कोइरालाले मुलुकको वर्तमान अवस्था सोचे जस्तो राम्रो नभएको बताए । उनले संसारबाटै अलोकप्रिय भएको कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने पार्टीले मुलुक चलाउँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताए । ‘‘शान्ति सुरक्षाको अवस्था दयनीय छ । हत्याका ऋंखला बढी रहेका छन् । महंगी चुलिएको छ । विधिको शासनको खिल्ली उडाइएको छ । सरकारी ओहोदामा बसेका व्यक्तिहरु चरम भ्रष्टाचारमा मुछिएका छन् । बुद्धीजिवीहरुमाथि अपमान जारी छ । सबै क्षेत्रमा अराजकता फेलिएको छ,’’ महामन्त्री कोइरालाले भने ।

उनले सरकारबाट नारी अस्मितामाथि गम्भिर आक्रमण भइरहेको समेत दाबी गरे । महामन्त्री कोइरालाले भने, ‘‘नारी अस्मितामाथि गम्भिर आक्रमण भइरहेको छ भन्ने कुरा निर्मला पन्त प्रकरणले प्रमणित गरिसकेको छ ।’’

अर्का महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिष्ट सरकार लोकतान्त्रिक मूल्य र मान्यता विपरित नियोजित ढंगबाट एकपछि अर्को काम गरिरहेको प्रति आपत्ति जनाए । ‘‘यो सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यताहरु, लोकतन्त्रका आधारहरुलाई लल्कार्ने, धम्क्याउने नियोजित तरिकाले एक पछि अर्को काम गर्दे गएको छ ।’’ उनले भने ।

महामन्त्री खड्काले धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर सरकारले नेपाली जनताको सामाजिक सद्भाव, धार्मिक सद्भाव तहस–नहस पार्ने षड्यन्त्र रचेको आरोप लगाए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *