Sajhamanch Archive

दुबै मिर्गौला फेल भएर जीवन र मरनको देसाधमा पुगेका आशिष चौधरीको बचाउन समिति गठन

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

बुद्धशान्ति । मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ ।

कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छन्, कसैको समस्या हल गर्न स्वयम् व्यक्ति र परिवारको प्रयासले सम्भव हुँदैन । सामुहिक रुपमा गरिएको प्रयासले समस्या समाधान गर्नका लागि ठूलो बल मिल्दछ । समस्या समाधानमा ‘सामुहिक प्रयास’ कहिले काहिँ उत्तोलकको रुपमा देखिन सक्छ । सामुहिक प्रयासलाई उत्तोलक बनाउने हो भने समस्यामा परेकाले नयाँ जीवन पाउँछन् ।

झापाको बुद्धशान्ति–३ धाइजन चोकबाट थोरै उत्तरमा पर्ने चौधरी परिवारमा एउटा यस्तै ठूलो समस्या आएको छ । कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको चौधरी परिवारमा परेकोे समस्या समाधान गर्न सक्ने अवस्था नै छैन । यतिबेला ‘सामुहिक प्रयास’ उत्तोलक बन्नुपर्ने अवस्था सिर्जना भएको छ, त्यो चौधरी परिवारको समस्या हल गर्न ।

अरुण चौधरी र मञ्जु चौधरीका १५ वर्षीय छोरा आशिष चौधरीको दुबै मिर्गौलाले काम गर्न छाडिसकेको छ । जुनसुकै हालतमा उनको मिर्गाैला फेर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । मिर्गाैला फेर्न सकिएन भने १५ वर्षीय बालक आशिष बाँच्न सक्ने अवस्थामा छैनन् । डाक्टरले आशिषको दुबै मिर्गौलाले काम गर्न छाडेको हुँदा तत्काल मिर्गौला फेर्नु पर्ने भनेपछि त्यो परिवारको हाँसो खुसी सबै आँशुमा परिणत भएको छ ।

सन्तानको उज्ज्वल भविश्यको सपना बोकेर विदेशिएका आशिषका बुबा छोरालाई लागेको रोग थाहा पाएर स्वदेश फर्किए । कमजोर आर्थिक अवस्थाले रुमलिएको परिवारको आम्दानीको स्रोत त्यतिबेलै सकियो जब अरुण छोराको उपचारको लागि स्वदेश फर्किए । ‘आशिषको दैनिक उपचार गरिरहनु परेको छ’–‘डाक्टरले मिर्गाैला फेर्नु भनेको छ, जसोतसो खर्च जुटाएर अहिलेसम्म उपचार ग¥यौं तर अब थप उपचार गर्ने एक रुपैयाँ पनि छैन, ठूलो समस्यामा परेका छौं हजुर ।’ आषिशका बुबा अरुण गहभरी आँशु पारेर पीडा पोख्छन् ।

आशिषकी आमा मञ्जु भन्छिन् ‘डाक्टरलाई मेरो मिर्गौला छोरालाई दिन मिल्छ भनेर जाँच गर्दा मिल्छ भनेको छ, छोराको दीर्घजीवनका लागि म मेरो मिर्गौला दिन तयार छु, तर मिर्गौला फेर्न १५ लाख बढी चाहिन्छ भनेको छ, कहाँबाट ल्याउनु त्यतिका रकम ?’

मेचीनगर १२ मा रहेको दुर्गा अंग्रेजी माविमा कक्षा १० मा अध्ययनरत् आशिष पढाईमा पनि अब्बल रहको सो विद्यालयका प्रिन्सिपल भोजबहादुर कार्कीले बताए । उनको नयाँ जीवनका लागि प्रिन्सिपल कार्कीले पनि सबैसँग सहयोगका लागि हात मागेका छन् । उता बिरामी १५ वर्षीया आशिषले म बाँच्न चाहन्छु, बाँचेर परिवार र समाजको सहारा बन्न चाहन्छु भन्दै आफूलाई बचाईदिन सबैसँग अनुरोध गरेका छन् । ‘जब मैलै मेरो मृगौला फेल भएको थाहा पाएँ, मेरा सबै तागत सकियो, त्यो कुरा सुनेपछि म एक्लै कोठामा घण्टौंसम्म रोएं ।’ आशिष भन्छन् ‘जीवनको मुल्य थाहा पाएँ, मलाई बचाउनुस् म बाँच्न चाहन्छु, विन्ती ।’

यसैबीच आशिषको जीवन रक्षाका आशिष बचाउ अभियान सुरु गरिएको छ । सबैसँग सहयोगको अपील गर्दै आशिष बचाउ अभियान सुरु गरिएको आशिष बचाउ समितिका संयोजक भोजबहादुर कार्कीले जनाएका छन् ।

सो समितिले विभिन्न विद्यालयहरुमा गएर अभियान सञ्चालन गरिरहेको छ । आशिष बचाउ समितिले सहयोगी मनहरुलाई सहयोग गरेर आशिषको जीवन बचाइदिन अनुरोध गरेको छ । समितिले आशिष बचाउ अभियानका लागि ग्लोवल आईएमई बैंकको खाता नम्बर ७७०१०१००००२१९ मार्फत रकम संकलन गरिरहेको सचिव आचार्यले जनाएका छन् । आचार्यले आशिषको अवस्थाबारे परिवारसँगै सम्पर्क गरेर पनि गर्न सकिने जनाएका छन् । उनले आशिषका बुबा अरुण (९८१४०८६३५७), आमा मञ्जु (९८१६०१५६१४) लाई सम्पर्क गर्न सकिने पनि जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *