Sajhamanch Archive

रिसोर्टको २४ कोठा बुक गरेर के गर्दैछन् पोखरामा पूर्वराजा ?

Published: in फोटो by .

unn.prixa.net

कास्की – पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा हुनुहुन्छ । निजी भ्रमणको क्रममा सोमबार पूर्वरानी कोमल शाहसँगै उहाँ पोखरा आइपुग्नुभएको हो ।

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले भव्य स्वागत गरेका थिए ।

निजी भ्रमण भनिए पनि शाहले देशव्यापी रुपमा गर्दै आउनुभएको धार्मिक भ्रमणलाई पनि अगाडि बढाउने कार्यक्रम तय भएको स्वागत व्यवस्थापन मूल समारोह समितिका सचिव तथा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव भिमराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वराजा शाह दुई सातासम्म पोखरामै रहनुहुनेछ । पोखरा र आसपासको केही धार्मिक स्थलको भ्रमण, केही राजनीतिककर्मीसँग भेटघाट र छलफलपछि अंग्रेजी नयाँ वर्ष मनाएर उहाँ काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

पूर्वराजा शाह पोखरा दोविल्लामा भर्खरै सञ्चालनमा आएको माउण्टेन ग्लोरी रिसोर्टमा बस्नुभएको छ । धर्मपत्नी कोमलसँगै बुद्ध एयरबाट पोखरा झरेपछि उहाँ सिधै रिसोर्ट पुग्नुभएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी माताको पूजा अर्चना गर्ने कार्यक्रम रहेको स्वागत व्यवस्थापन मूल समारोह समितिको सचिव भिमराज भण्डारीले जानकारी दिनुभयो । त्यसपछि लेखनाथमा रहेको नर्मदेश्वर धाम, काहुँकोटलगायत पोखरा र आसपासमा रहेको धेरै धार्मिकस्थलहरुमा गई पूजाअर्चना गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

दलीय राजनीतिबाट नागरिकमा वितृष्णा जाग्यो : भण्डारी 

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव तथा स्वागत व्वस्थापन मूल समारोह समितिका सचिव भिमराज भण्डारीले पूर्व राजारानीको स्वागतमा उर्लिएको जनलहर हेर्दा अहिलेको दलीय राजनीतिबाट नागरिकमा वितृष्णा जागेको भान भएको बताउनुभयो ।

आफूहरुले २ दिन अगाडि मात्र पूर्व राजारानी पोखरा आउने जानकारी पाएपछि स्वागत तथा व्यवस्थापन मूल आयोजक समिति गठन गरेको तर राम्रो व्यवस्थापन गर्न नसक्दा पनि उल्लेख्य जनसहभागिता भएकोले जनतामा राजाप्रतिको साथ अझै उस्तै रहकोे उहाँको भनाई छ ।

कस्तो छ त पूर्वराजा बस्ने रिसोर्ट ?

पोखरा महानगरपालिका दोविल्लामा रहेको माउन्टेन ग्लोरी रिसोर्ट भर्खरै सञ्चालनमा आएको रिसोर्ट हो । जंगलको बीचमा रहेको रिर्सोट निकै नै आकर्षक छ ।

त्यसैले पोखरा भ्रमणमा आउने विदेशी पर्यटकको पनि रोजाईमा पर्छ यो रिसोर्ट ।  त्यहाँबाट  मनमोहक हिमाली दृश्य हेर्न सकिन्छ । एउटा कोठाको अहिले नेपाली नागरिकका लागि प्रतिरात १२ हजार रुपैयाँ पर्छ । विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ ।

पूर्व राजपरिवार बसेको रिसोर्टमा अहिले ३२ कोठा छन् । जसमध्ये २४ कोठाहरु राजपरिवारले बुकिङ गरिसकेको जानकारी दिइएको छ । रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको होटलले जानकारी दिएको छ । सोमबारदेखि नै १६ रातका लागि सबै कोठा बुकिङ गरिएको हो ।

एक रातको १२ हजारकै दरले पनि पूर्वराजा ज्ञानेन्द्रले २४ कोठाको प्रतिरात २ लाख ८८ हजार रुपैयाँ तिर्नुपर्छ । यही दरले १६ रातको खर्च ४६ लाख ८ हजार हुन आउँछ । यो त होटलको बेडको मात्रै खर्च भयो । खानपिनको त छुट्टै छ । यति धेरै खर्च गरेर पूर्वराजा ज्ञानेन्द्रले पोखरामा के गर्दैछन् भन्ने सबैको चासो रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *