Sajhamanch Archive

बिर्तामोडमा ‘सूचना सम्वाद’ : जनप्रतिनिधि र कर्मचारीहरु लाभान्वित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज आमसञ्चारको उपयोग, पत्रकारिता, सूचनाको हक एवम् मुलुकी संहिताबारे प्रशिक्षण दिइएको छ ।

झापाको पहिलो समाचारमुलक न्यूजपोर्टल साझामञ्च डट कमको मातृसंस्था साझामञ्च मिडिया प्रालिको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि तथा कर्मचारीलाई उक्त प्रशिक्षण दिइएको हो । खोजपत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले कार्यक्रममा सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीका पूर्वअध्यक्ष तथा हिमाल खबरपत्रिकाका सम्पादक भइसकेका शिव गाउँलेले सूचनाको हकको प्रयोग पत्रकारलेमात्र नगरेर आम नागरिकले गर्न पाउने मौलिक हक भएको अवगत गराए । उनले आफूसँग सरोकार रहने सार्वजनिक महत्वका सबै सूचना उपलब्ध गराउन जनप्रतिनिधि र कर्मचारीहरुको दायित्व भइसकेको पनि औंल्याए ।

कार्यक्रममा गाउँलेले सूचनाको हकको प्रयोगबाट जनप्रतिनिधि र कर्मचारीले गरेको निर्णय जस्ताको तस्तै नागरिकले थाहा पाउने वातावरण बन्ने पनि सुझाए । ‘सूचनाको हकले कुनै पनि विषयलाई ‘मिलाउने’ भन्ने कुरालाई प्रहार गर्छ’ उनले भनेका छन्, ‘यसले हुन्छ वा हुँदैन भन्ने कुरालाई केही गर्दैन ।’

 

‘धेरै जनप्रतिनिधि एवम् कर्मचारीहरुले हाम्रो चाहिँ व्यक्तिगत जीवन हुँदैन’ भन्ने गुनासो गर्ने गरेको बताउँदै उनले भने, ‘मानिस जति धेरै सार्वजनिक व्यक्ति बन्दै जान्छ त्यति नै उसको व्यक्तिगत जीवन कम हुँदै जान्छ ।’ नागरिकले जनप्रतिनिधिको हरेक कुरामा निगरानी गरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने उनको सुझाव छ ।

पत्रपत्रिकामा आफूहरुका बारेमा भ्रामक खबर आएमा कसरी त्यसको ट्याकल गर्ने भनी सहभागीका तर्फबाट उठाइएको जिज्ञासामा उनले सहजै यसको समाधान गर्न सकिने सुझाए । तीन किसिमबाट समाधान गर्न सकिने सुझाउँदै उनले सूचना लुकाउन खोज्नु भयो भने पत्रकारले अझ शंकागर्न थाल्छन् र वास्तविकता खोजेरै छाड्ने भएकाले बरु सुरुमै सत्य सूचना दिएर अप्ठ्यारा परिस्थितिबाट जोगिन आग्रह गरे ।

झापाका १५ वटै स्थानीय तहमा यसप्रकारको कार्यक्रम गर्ने प्रस्तावसहित सझामञ्चले बिर्तामोड नगरपालिकासँगको सहकार्यमा आजको कार्यक्रम सम्पन्न गरेको कार्यक्रमका अध्यक्ष खड्गप्रसाद दाहालले जानकारी दिए ।

 

दाहालको अध्यक्षतामा आयोजित सूचना सम्वादको संक्षिप्त उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सूचनाको हकबारेमा जनप्रतिनिधिलाई जानकारी हुनुपर्नेमा जोड दिए । पत्रकारले पनि सकारात्मक पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नगरप्रमुख शिवाकोटीले समाचार सम्प्रेषण गर्दा आलोचनाभन्दा पनि सत्यतथ्य सूचनामा ध्यान दिनुपर्ने औंल्याए ।

नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंले जनप्रतिनिधिलाई यस प्रकारको प्रशिक्षणले जनताका कामहरु गर्न तथा जिम्मेवारी वहन गर्दा अपनाउनु पर्ने सावधानीबारे अवगत हुनेभएकाले नगरपालिकाले यस प्रकारको तालिमको आवश्यकता महसुस भएको बताइन् ।  नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले जनप्रतिनिधिहरुलाई सूचनाको हकबारे प्रशिक्षण आवश्यक भएको वर्तमान परिस्थितिमा साझामञ्चले सान्दर्भिक कार्यक्रम आयोजना गरेको बताए ।

करिब चार घण्टाको अन्तरक्रियात्मक सहजीकरणमा सहभागीहरुले सहजकर्ता गाउँलेसँग मुलुकीसंहिता, पत्रकार आचारसंहितासहित जनप्रतिनिधि र कर्मचारीको सार्वजनिक जीवनका अनेकन आयामका बारेमा छलफल गरेका थिए ।

तालिम कार्यक्रमको आवश्यकता र औचित्य माथि प्रकाश पार्दै साझामञ्च डट कमका सम्पादक गोपाल काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको समापन चरणमा सहभागी कर्मचारीहरुको तर्फबाट शाखा अधिकृत देवराज कार्की र जनप्रतिनिधिको तर्फबाट वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देनले तालिम अनुभव सुनाएका थिए । उनीहरुले ‘सूचना सम्वाद कार्यक्रम’लाई उच्च कोटीको अवधारण भएको बताउँदै मुख्य सहजकर्ता शिव गाउँलेको विद्वताले आफूहरुले धेरै विषयमा जानकारी हासिल गर्नसकेको प्रतिक्रिया दिए ।

साझामञ्चका सम्पादक काफ्लेले यही प्रकृतिको कार्यक्रम शिवसताक्षी, दमक, मेचीनगर, भद्रपुर र अर्जुनधारा नगरपालिकामा निकट भविष्यमा गर्नेगरी प्रस्ताव गरिएको जनाए । जनप्रतिनिधि तथा कर्मचारीसँगको सूचना सम्वाद कार्यक्रमले वर्षैभर निरन्तरता पाउने सम्पादक काफ्लेले जानकारी गराएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *