Sajhamanch Archive

सरकार असफल बनाउने प्रयास भइरहेको छः ओली

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भइरहेको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भइरहेको दाबी गरेका हुन् ।

शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले आफू देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देशप्रति बेईमानी नगरी राष्ट्रिय स्वाभिमानका साथ सरकारले काम गरिरहेको दावी गरे ।

देश विकासका लागि आफ्नो प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्नेहरुले केही पनि बिगार्न नसक्नेमा आफू ढुक्क रहेको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले धराहरा पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धताजनाए ।

उनले भूकम्पले ध्वस्त बनाएको रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माण पुरातात्विक महत्वको हुने भन्दै त्यसमा विरोध नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको सम्पदाहरुको पुनर्निर्माणको काम आफू सरकारबाट हटनु परेपछि अलपत्र परेकोस्मरण गराए ।

प्रधानमन्त्री ओलीले सांस्कृतिक चाडपर्वहरुको विदा कटौति गर्ने निर्णय पुनर्विचार गर्ने पनि बताए । उनले जनताको सेवा गर्ने समय थोरै भएकाले सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे । विभिन्न जातीय समूदायले आफ्नो चाडपर्वमा गरिएको विदा कटौति खारेज गर्न माग गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर त्यसमा पुनर्विचार गर्न सकिने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले ज्यापू राष्ट्रिय दिवस कार्यक्रमका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरे ।

उनले १५ दिन भित्र सरकारले सो सहायता ज्यापू समुदायलाई उपलब्ध गराउने पनि उल्लेख गरे ।

कार्यक्रममा ज्यापू संस्कृतिको संरक्षणमा योगदान पु¥याएकाहरुलाई प्रधानमन्त्री ओलीले सम्मान गरे ।

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *