Sajhamanch Archive

इन्धन खर्चको विवादमा परे मन्त्रीहरू

Published: in राष्ट्रिय समाचार by .

गत साता मन्त्री तथा सांसदहरूले काठमाडौंमा आफ्नो घर हुँदाहुँदै नियमविपरीत घरभाडा लिइरहेको समाचारले नेपालमा जनप्रतिनिधिको नैतिकताको स्तर छताछुल्ल पारेको थियो । यो साता मन्त्रीहरूले आफूले इन्धनको नाममा छुट्टै नगद लिएर पनि मन्त्रालयबाट इन्धन लिइरहेको समाचारले एकपल्ट फेरि जनप्रतिनिधि र यस सरकारका मन्त्रीहरूको नैतिकतामा प्रश्न तेर्सिएको छ । भाडाको समाचार पहिले कान्तिपुरले प्रकाशित गरेको थियो भने इन्धनसम्बन्धी समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।

नयाँ पत्रिकाको बिहीवारको अंकमा पुष्प ढुंगानाले तयार पारेको समाचारअनुसार भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’को नारा लगाएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का २४ मन्त्रीमध्ये अर्थमन्त्री युवराज खतिवडा एक जनाबाहेक बाँकी सबै २३ मन्त्रीले इन्धन खर्च बापत् दोहोरो सुविधा लिइरहेका छन् । मन्त्रीका रूपमा प्राप्त हुने सुविधा नगदै लिएर पनि मातहतका मन्त्रालयबाट समेत इन्धन लिइरहेका छन् । नयाँ पत्रिकाले फोटोसहित प्रकाशित गरेको सो समाचारमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले २२ हजार ७६३ रुपियाँ इन्धनबापत नगदै लिन्छन् भने मन्त्रालयबाट मासिक २०० लिटर इन्धन पनि लिन्छन् ।

पोखरेलको मासिक तलब रु। २ लाख ९१ हजार ५७५ छ । उनले लिएको सुविधा यो तलबमा थप हो । त्यस्तै सो पत्रिकाले रामबहादुर थापा, वर्षमान पुन, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव तथा गोकुल बाँस्कोटाको पनि तस्बिरसहित विवरण प्रस्तुत गरेको छ । मन्त्रीहरूले लिने इन्धन बापतको खर्च २१ हजार ३२१ छ भने प्रत्येकले मासिक १५० लिटर इन्धन मन्त्रालयबाट थप लिइरहेका छन् । वर्षमान पुनले विद्युतीय मोटर चढेकाले मन्त्रालयबाट पेट्रोल त लिएका छैनन् तर उनले पनि इन्धन बापतको पैसा भने छाडेका छैनन् । ‘साइकल मन्त्री’ भनेर नाम कमाएका लालबाबु पण्डितले अन्य मन्त्रीभन्दा धेरै अर्थात् २०० लिटर इन्धन लिने गरेका छन् । सबै मन्त्रीको मासिक तलब रु २ लाख ३२ हजार ८३० रहेको देखिन्छ ।

यो समाचार प्रकाशित भएको भोलिपल्ट केही मन्त्रीले नयाँ पत्रिका मार्फत स्पष्टीकरण दिएका छन् । सबैले लगभग एकै भाकामा ‘ आफूलाई थाहा नभएको’ भन्ने स्पष्टीकरण दिएर उम्कने प्रयास गरेको देखिन्छ । मन्त्री पदमा पुगेका व्यक्तिले थाहा नभएको भनेर राष्ट्रको सम्पत्ति गैरकानुनी रुपमा दोहन गरिरहेका छन् तर यस विषयमा ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ भन्ने प्रधानमन्त्रीको कार्यालयले अहिलेसम्म केही बोलेको छैन ।

यस विषयमा शुक्रवारको नयाँ पत्रिकाले सम्पादकीयमार्फत पनि लोभी मन्त्रीहरूको मर्ममा प्रहार गरेको छ । नेपालमा अहिलेको कम्युनिस्ट सरकारका मन्त्री र सांसदको लोभ दिक्कलाग्दो गरी छताछुल्ल भएको भन्दै हाम्रा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सांसद र मन्त्रीहरू कहिल्यै नभरिने लोभको भाँडो मनभित्र राखेर हिँडदा रहेछन् भनेर सम्पादकीयमा भनिएको छ । साथै नयाँ पत्रिकाले आफूलाई माक्र्सवादी पार्टीका नेता भन्नेहरूको लोभले आमजनतालाई समेत लाज भइसक्यो भन्दै यस्तो अतिवादी लोभबाट बच्न आग्रहसमेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *