Sajhamanch Archive

लागूऔषधका दुई कारोबारी विरुद्ध मुद्दा दर्ता

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । तीन दिनअघि लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका एक भारतीय नागरिकसहित दुई जनालाई काँकरभिट्टा प्रहरीले लागूऔषध ओसार पसार, बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ स्थित शिला पत्थर होटलबाट होटल सञ्चालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारत पश्चिम बंगाल खोरीबारीका ५५ वर्षीय श्यामल मण्डललाई १९ ग्राम ५०० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

शनिबार साँझ ५ बजेतिर गोप्य सूचनाका आधारमा होटल पुगेको प्रहरी टोलीले होटलको १०६ नम्बर कोठाबाट प्लाष्टिकमा पोको पारेको अवस्थामा उक्त लागुऔषध फेला पारेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका हुन् ।

काँकरभिट्टा प्रहरी हिरासतमा रहेका दुवै जनालाई अनुसन्धान पश्चात मुद्दा दर्तासहित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

लागूऔषध ऐन २०३३ मा लागूऔषध उत्पादन, भण्डारण, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १५ वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एक महिनाको कैद तथा दुई हजार रुपैयाँ जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानूनी व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *