Sajhamanch Archive

खाजा खर्च कटौतीले सामुदायिक विद्यालयमा विद्यार्थी पनि घटे

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । केही वर्ष अघिदेखि सरकारी विद्यालयमा नर्सरी (बालविकास) अध्ययन गर्ने विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा चालु आर्थिक वर्ष २०७५/०७६ मा कटौती गरिएपछि मेचीनगरमा त्यसको नकरात्मक प्रभाव परेको पाइएको छ ।

मेचीनगर नगरपालिका अन्तरगत ४० वटा सामुदायिक विद्यालयका बाल विकास कक्षा पनि सोही कारण प्रभावित भएका नगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर १ बाहुनडाँगीमा रहेको जनकल्याण प्राथमिक विद्यालयमा सोही कारण विद्यार्थी नआएकाले विद्यालय नै बन्द गरिएको छ । त्यहाँ कार्यरत शिक्षकलाई आसपासका विद्यालयमा काजमा खटाएर विद्यालय बन्द गरिएको हो ।

खाजा कटौती भएसँगै अहिले नगरका प्रायः सवै विद्यालयमा नर्सरीमा अध्ययनरत विद्यार्थीको संख्या हवात्तै घटेको नगर शिक्षा शाखाका नगर स्रोत व्यक्ति दीपेन्द्र कन्दङ्वाको भनाई छ ।

स्रोत व्यक्ति कन्दङ्वाले भने ‘दैनिकरुपमा विद्यार्थीको संख्या घट्दो छ, अहिले नियमितरुपमा विद्यार्थी विद्यालय नआउने सम्बन्धित विद्यालयका प्रधानध्यापकहरुले हामीलाई भनिरहनु भएको छ, अभिभावकहरुबाट त्यस्तै गुनासाहरु आइरहेका छन् ।’

सरकारले दिवा खाजाको रकम कटौती गरेर लोपोन्मुख र अतिसीमान्तकृत २६ (जाती) समुदायका १ देखि ५ कक्षासम्म अध्ययनरत बालबालिकाहरुका लागि तिनका अभिभावकलाई रकम दिने व्यवस्था गरेको भए पनि त्यो खासै व्यवहारिक नभएको प्रधानाध्यापकहरुको भनाई छ ।

सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरकारले दिवा खाजा वापतका लागि प्रतिव्यक्ति दैनिक १५ रुपैयाँका दरले १८० दिनको कूल २ हजार ७०० रुपैयाँ सम्बन्धित विद्यालयलाई प्रदान गदैं आएको थियो । तर, चालू आर्थिक वर्ष २०७५/०७६ बाट बजेट कटौती गरेपछि मेचीनगरमा सञ्चालनमा रहेका त्यस्ता विद्यालयमा विद्यार्थीको आर्कषण घट्दै त्यसको नकरात्मक प्रभाव परेको काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौला बताउँछन् ।

वैशाखदेखि नै खाजा वापतको रकम विद्यालयले प्राप्त नगरेको र वैशाखदेखि असार महिनासम्म विद्यालयकै स्रोतबाट विद्यालयमा अध्ययनरत विद्यार्थाीलाई खाजा खुवाएको साउनदेखि विद्यालयको स्रोत नभएका कारण विद्यालयले खुवाउन नसकेको प्रधानध्यापक निरौलाको भनाई छ ।

उनका अनुसार सरकारले दिवा खाजा खर्च वितरण गरुञ्जेल विद्यालयमा २६ जना विद्यार्थी नियमित आउने गरेका थिए । अहिले त्यो संख्या घटेर १४ मा झरेको छ । ती पनि नियमित विद्यालय आउने गरेका छैनन् । मुस्किलले १० जना चाहिँ आउदैछन् । अभिभावकले समेत अहिले आफ्ना नानीहरुलाई विद्यालय पठाउन खासै चासो दिइरहेको पाइन्न, प्रधानाध्यापक निरौला सुनाउँछन् ।

नयाँ व्यवस्थाअनुसारको सुविधा लिने काँकरभिट्टा माविका विद्यार्थीको संख्या मुस्किलले ६–७ जनामात्रै रहेको उनको भनाई छ ।

आदर्श माध्यमिक विद्यालय आयाबारीमा कुनै बेला १०८ जना विद्यार्थी नर्सरीमा अध्ययनरत थिए । अहिले आएर त्यो संख्या घटेर ७५–८० जनामा पुगेको विद्यालयका प्राधानध्यापक हेमकुमार खड्का बताउँछन् । ‘अधिकांश चिया र अन्य क्षेत्रमा कार्यरत मजदूर र निम्नस्तरका छोराछोरी खाजाकै लोभले पढ्न आउथे’ प्राधानध्यापक खड्काले भने ‘अहिले खाजा नपाए पछि विद्यार्थीको संख्या घट्यो ।’ असोज महिनासम्म प्रतिव्यक्ति १५ रुपैयाँका दरले विद्यालयले खाजा खुवाएको थियो । पछि विद्यालयको स्रोतले नधानेपछि बन्द गरिएको प्राधानध्यापक खड्काले प्रष्ट पार्छन् ।

मेचीनगर ३ मा रहेको जनता माध्यमिक विद्यालयमा पछिल्लो समय नर्सरीमा अध्ययनरत विद्यार्थीको संख्यासमेत क्रमशः घट्दो छ । प्रधानाध्यापक विजयकुमार देवका अनुसार ५२ जनाबाट घटेर अहिले ४० को हाराहारीमा झरेको छ । यो सबै खाजा खर्च कटौती गरेपछि परेको असर हो, प्रधानाध्यापक देवको निष्कर्ष छ ।

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन हरेक उपायहरु अपनाइरहेका बेला खाजा खर्च कटौतीले विद्यार्थीको संख्या घट्दोरुपमा रहेको कारण यसले ठूलो समस्या पैदा भएको नगर स्रोत व्यक्ति दीपेन्द्र कन्दङ्वाको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *