Sajhamanch Archive

पुरुषको भन्दा थोरै काम गरेजस्तो लाग्दैनः पाठक

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, by .

२०७४ सालमा नयाँ संरचना र अधिकारसहित स्थानीय सरकार गठन भएसँगैको स्थानीय तहको निर्वाचनमा महिलाले पनि पुरुषकै हाराहारीमा वडाध्यक्षको उम्मेदवारी पाएका थिए । तर थोरैमात्र महिलाले वडा अध्यक्ष बन्ने अभिमत पाए । झापाको बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये वडा नम्वर ९ मा उम्मेदवार बनेकी पवित्रा पाठकले वडाध्यक्षमा अभिमत पाएकी हुन् । तत्कालिन नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएकी पाठकले राप्रपा नेपालका उम्मेदवार प्रकाश बुढाथोकीलाई ६५ मतभन्दा बढीको अन्तरमा पछि पार्दै निर्वाचित बनेकी हुन् । ‘साझमञ्चमा वडाध्यक्ष’ स्तम्भमा आज उनै  डाध्यक्ष पवित्रा पाठकसँग विभिन्न विषयमा गरिएको कुराकानी प्रस्तुत गरेका छौं । महिलाले वडा अध्यक्ष सम्हाल्दा के कति सजिलो वा अप्ठ्यारो हुँदो रहेछ भन्ने पाठकको अनुभवलाई साझामञ्चका ज्ञानु घिमिरेले सम्वादमार्फत् संकलन गरेकी छन् ।

वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दा तपाईंले कस्तो अनुभव गर्नुभएको छ ?

पहिले जनप्रतिनिधि भएर अनुभव प्राप्त नगरेकाले सुरुमा अलमल भयो । केही समस्याहरु आए पनि । वडाका हरेक क्रियाकलापको अध्ययन गरिरहेको हुनाले काम सम्पादनमा चाहिँ सुरुबाटै खासै गाह्रो भएन ।

महिलाले वडाध्यक्ष सम्हाल्दा पुरुषका भन्दा केही पृथक समस्या पनि आएका छन् कि ?

आफूले आस्था राखेको राजनीतिक दलको जिल्लास्तरीय कार्यकर्ता भएकाले र लामो समयदेखि सामाजिक राजनीतिक अभियानमा होमिएकाले कोही कसैले गर्न चाहेर पनि आँट गर्दैनन् । तर थुप्रै चुनौतिहरु तेर्साएर काम अड्काउन खोजिएका पनि उदाहरणहरु छन् । मैले त्यसलाई कुशलतापूर्वक किनारा लगाउँदै जनताको काम गरिरहेको छु । महिलाले पहिलो व्यक्ति भएर काम गर्नेहरुको संख्या मुलुकभर कम मात्रामा भएकाले मलाई पनि निर्वाचनका बेला यस्तै गर्न खोजिएको थियो ।

महिलाभन्दा पुरुष सक्षम हुन्छन् भन्ने अहम्ले पुरुषलाई नै जिताउनु पर्छ भन्ने आवाज चुनावको बेला नआएका होइनन् । तर निर्वाचनको समयमा मैले गरेका प्रतिवद्धता र पहिलेदेखि नै गरामनी क्षेत्रको राजनीतिक, सामाजिक क्रियाकलापमा आफूले निभाउन पाएको जिम्मेवारीको प्रतिफलस्वरुप मैले चुनाव जितेको हो । विगतमा आफूले सम्पादन गरेका कार्यको प्रभावले मलाई निर्वाचन जित्छु भन्ने विश्वास थियो । तर वडा अध्यक्षमा महिला उम्मेदवार भएकै कारण आफूलाई हराउन लागेका थिए, जनताले विश्वास गरेर जित्न सफल भएकाले जिम्मेवारीमा पुगेपछि तेर्साइएका समस्याहरुलाई म किनारा लगाउन सक्षम छु र रहिरहन्छु भन्ने लाग्छ ।

वडा अध्यक्ष चलाउन पुरुष नै चाहिन्छ भन्ने भ्रम रहेकाहरुलाई केही सन्देश दिनुहुन्छ कि ?
मलाई वडाध्यक्ष रहेका कुनै पुरुषभन्दा कम काम गरेजस्तो लाग्दैन । अवसर पाएमा महिलाले जस्तोसुकै चुनौतिको पहाड फोर्न सक्छन् । वडाध्यक्ष त पुरुष नेताको भन्दा सहजरुपमा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण आफैं छु ।

बिर्तामोड नगरपालिकाको वडाध्यक्षजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको डेढ वर्ष नाघेको छ । समग्ररुपमा यो अवधिमा के कस्ता कार्यहरु सम्पन्न गर्नुभयो ?

पहिलो कुरा सुखी नेपाली समृद्ध नेपाल बनाउन वडामा विकास निर्माणको कुरालाई प्राथमिकता दिएर सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको कार्य अगाडि बढाएकी छु । आफ्नो वडामा म निर्वाचित हुनुअघि बिजुलीको अभाव थियो । सम्पत्ती हुनेहरुले टाढाटाढाबाट फ्लेक्सिवल तार टाँगेर बिजुली ल्याएर घर उज्यालो बनाउनु पर्ने अवस्था थियो । अब सबैतिर बिजुली बत्ती पुगेको छ ।

सडक बिस्तार तथा स्तरोउन्नति गरिएको छ । २ वटा पूल निर्माण कार्य गरेका छौं । अरु नियमित प्रशासनिक काम लिएर वडा कार्यालय आउने जनतालाई सेवा प्रवाहमा कन्जुस्याईं गरेका छैनौं । चालू आर्थिक वर्षको अधिकांश बजेट सडक निर्माण, विस्तार तथा स्तरोन्नतिमा गएको छ ।

के तपाई चुनावी घोषणापत्र अनुसार नै जनताका र वडाको काम गरिरहनु भएको छ ?

केही अतिआवश्यक योजना बाहेक सबै कार्य हामीले चुनावमा ल्याएको घोषणपत्र अनुसार नै गर्दै आएका छौं । र, हामीले आफ्नो ‘मेनिफेस्टो’ बिर्सिएका छैनौं ।

वडाध्यक्ष स्थानीय सरकारका मन्त्री पनि हुन् भनिन्छ । पालिका सरकारले तपाईंलाई केही जिम्मेवारी दिइएको छ कि ?

मन्त्री सो सरहको भन्ने नै छ । हामीले नगर मार्फत आएका योजना हेर्ने गरेका छौं । मन्त्री भन्दैमा त्यस्तो आफुखुसी केही गर्न पाइँदैन । नगरको निर्णय अनुसार काम गरिरहेका छौं । वडाध्यक्ष भएकाले पशु पालन र कृषिको क्षेत्र हेर्नेगरी मलाई जिम्मेवारी दिइएको छ । यसको संयोजकको रुपमा पनि काम गरिरहेकी छु ।

तपाईंहरु निर्वाचित भएर जनताको काम गरिदिन थालेपछि जनताले कस्तो अनुभूति गरेका होलान् ?

१५ वर्षसम्म कर्मचारीले मुलुक चलाइरहँदा व्यवधान भएको हो कि जस्तो अवस्था थियो तर अहिले आफूले छानेको प्रतिनिधिद्वारा सेवा लिने भएकाले आफ्नो गाउँ बुझेको मान्छे हुँदा जनताले ठूलो राहत महसुस गरेजस्तो लाग्छ । कम्तीमा आफूले चुनेर पठाएको प्रतिनिधिमार्फत् काम सम्पादन हुँदा जोसुकैलाई पनि सन्तुष्टी हुने रहेछ । हामी पनि वडा कार्यालयमा बसेर मात्र होइन, गाउँठाउँमा नै पुगेर जनताको काम गर्दै आएका छौं ।

वडाबासीका अपेक्षा कस्ता खालका हुँदा रहेछन् ?

सबै व्यक्तिका सबै अपेक्षा पूरा गर्न त नसकिएला तर अल्पकालिन र दीर्घकालिन परिणाम प्राप्त हुने विषय हेरेर आवश्यकता र महत्वका आधारमा पूरा वडाबासीका अपेक्षा सम्बोधन गरिरहेको छु भन्ने लाग्छ ।

निर्वाचन घोषणपत्रमा उल्लेखित सबै कुरा पूरा गर्न सम्भव छ ?

हामीले गाउँको आवश्यकता हेरेरै घोषणापत्र बनाएका हौं । ५ वर्ष भित्रमा पूरा गर्न सम्भव हुन्छ र गर्न सकिन्छ भनेरै घोषणा गरिएकाले प्रयत्न गरिँदै छ, राम्ररी काम सम्पादन गर्ने लक्ष्य छ ।                                                                   

प्रतिपक्षी दलबाट के–कस्तो साथ सहयोग पाउनु भएको छ ?

सबैलाई एउटै डोकोमा हाल्न मिल्दैन । प्रतिपक्षी दलका नेता कार्यकर्ताहरुले हामीले सम्पादन गरेका कामको गुण र दोषका आधारमा सपोर्ट गर्नुभएको छ । अहिलेसम्म नकारात्मक विरोध भने आएको छैन ।

तपाईंको कार्यकाल सकिन अब साढे ३ वर्ष बाँकी छ । सो अवधिभित्रमा पूरा गरिसक्ने मुख्य मुख्य योजनाहरु केही छन् कि !?

दुई वर्षसम्म चाहिँ हामी विकास निर्माणका कार्यलाई बढी प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएका छौं । सडक नपुगेको ठाउँमा विकास हुँदैन भन्ने बुझाईअनुसार चालू आर्थिक वर्ष २०७५÷०७६ लाई वडाको १ करोड र नगर गैरव योजनाको ७० लाख रुपैयाँ सडक एवम् पूर्वाधार विकासमा लगाउँदै छौं ।

बाँकी वर्षहरुमा सुखी नेपाली र समृद्ध नेपाल बनाउने आधारशिला तयार पार्न समूहगत रुपमा उत्पादन बढाउने कुरामा हाम्रो बजेट लगानी हुनेछ । कृषिमा आधारित तथा उत्पादनमुखी वडा बनाउने मेरो लक्ष्य छ ।

तपाईंको वडामा लक्षित वर्ग र महिलाका लागि के कस्ता खालका कार्यक्रम ल्याउनु भएको छ ?

पहिला चाहिँ सबैलाई शीर्षक राखेर बजेट छुट्टाएको थियो, महिला, दलित आदिवासीलाई भनेर । तर, त्यो पैसा कुनै ठाउँमा नकारात्मक प्रयोग भएकाले हाम्रो नगरले लक्षित वर्गलाई बजेट छुट्टाएको छैन । उहाँहरु कार्यक्रम गर्छौं भनेर आउनु भयो भने उहाँहरुको कार्यक्रम हेरेर प्रतिफल दिने कार्यक्रम रहेछ भने हामी उहाँहरुलाई योजना अनुसार बजेट उपलब्ध गराउँछौं । तर गत वर्षको जस्तै छुट्टै बजेट विनियोजन भने गरिएको छैन । महिला लक्षित कार्यक्रममा चाहिँ महिला चेतनामुलक तथा महिलालाई सबै क्षेत्रबाट समूहगत र रोजगारमुलक तथा कृषि उत्पादनमा सक्षम बनाउने योजना छ ।

अन्त्यमा, साझामञ्चमार्फत् वडाबासीलाई केही सन्देश छन् ?

म मेरो वडाका सम्पूर्ण बासिन्दालाई टोलविकास समिति बनाउन आग्रह गर्दछु । सोमार्फत कार्यक्रम बनाएर वडामा आउनुहोस् । तपाईंका कार्यक्रमले महत्वपूर्ण प्रतिफल दिने रहेछ भन्ने निश्कर्ष भएमा म ती योजनाहरु आफ्नै हुन् भन्ने दायित्वका साथ पूरा गर्नेछु । साथै सधैं सकरात्मक तथा रचनात्मक कार्य गर्न अनुरोध गर्दछु । आज वडाध्यक्ष निर्वाचित भएपछि म वडाबासी सबैको साझा प्रतिनिधि भएकी छु । तपाईंका समस्याहरुको सामाधान गर्न जुनसुकै बेला तयार छु । सँगै साथ दिने बचनवद्धता जनाउँछु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *