Sajhamanch Archive

योगी रामदेवले किन छोड्न लागे मोदीलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नयाँ दिल्ली । पछिल्लो विधानसभा निर्वाचनमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले नराम्रो हार व्यहोर्नुपरेपछि योगगुरु रामदेव सो पार्टीसँग टाढिन खोजेको पाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपालाई विगतमा ठूलो साथ दिँदै आएका रामदेवले अहिले भने आफूलाई तटस्थ भएको बताउन थालेका छन् । उनले आगामी संसदीय चुनावका क्रममा पनि भाजपाको प्रचार नगर्ने संकेत दिएका छन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीको विरुद्धमा अहिले नै केही बताइसकेका छैनन् । तर, मंगलबार मोदी तर्फपनि अप्रत्यक्ष संकेत गर्दै रामदेवले भनेका छन्,‘‘कुनै पनि व्यक्तिको हामी समर्थन गर्दैनौं ।”

उनले विगतमा प्रधानमन्त्री मोदीको सधैं प्रसंशा गर्ने गरेका थिए । तर, मंगलबार भने उनले भने,‘‘मलाई थाहा छैन अबको प्रधानमन्त्री को हुन्छ ।’’ उनले मदुरै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए,‘‘अहिले राजनीतिक अवस्था ज्यादै जटिल रहेको छ । हामी अहिले नै आगामी प्रधानमन्त्री को हुन्छ भनेर भन्न सक्दैनौं । अवस्था एकदमै रोचक छ । संघर्षको अवस्था रहेको छ ।’’

उनले अब आफूले राजनीतितिर ध्यान नदिएको बताउँदै आफूले कुनै व्यक्ति वा पार्टीको समर्थन नगर्ने बताएका छन् । रामदेवको यो भनाइलाई भाजपा र अन्य पार्टीका नेताहरुले पनि आश्चर्यको रुपमा लिएको पाइएको छ । किनकि यसअघि रामदेवले भाजपा र प्रधानमन्त्री मोदीको पक्षमा अभियान नै चलाएका थिए ।

करिब ६ महिना अघि योगी रामदेवले भाजपाका अध्यक्ष अमित शाहसँगको भेटमा मोदी सरकारले ४ वर्षमा गरेको कामको पनि प्रशंसा गरेका थिए । रामदेवले त्यतिबेला प्रधानमन्त्रीको इच्छा र नेतृत्वले देशलाई अगाडि लिएर गइरहेको जनाएका थिए ।

अमित शाहले आफू रामदेवको समर्थन लिनको लागि उनलाई भेट्न गएको बताउँदै आफूले केही भन्नु पर्ने भएकोले त्यहाँ गएको र रामदेवले धैर्यताका साथ आफ्नो कुरा सुनेको जनाएका थिए । त्यतिबेला अमित शाहले भनेका थिए, ‘‘यदि हामीलाई रामदेवको मद्दत मिल्यो भने उनका करोडौं समर्थकसँग पुग्न सजिलो हुन्छ । उनी सन् २०१४ मा हाम्रो साथमा थिए । हामी अहिले पनि उनीसँग आशिर्वाद मागिरहेका छौं ।”

रामदेवलाई आफ्नो व्यापारको चिन्ताको कारण भाजपा छोड्नुपर्ने अवस्था आएको जनाइएको छ । यसबीचमा भएका ५ वटा विधानसभा निर्वाचनमा भाजपाको पकड भएका तीन प्रदेशमा समेत सो पार्टीले हार व्यहोर्नुपरेको छ ।

त्यसैले गर्दा सन् २०१४ को चुनावमा भाजपालाई साथ दिएका रामदेव अहिले पन्छिने तयारीमा लागेको संकेत मंगलबारको उनको अभिव्यक्तिले दिएको छ । वरिष्ठ राजनीतिक विश्लेषक अनिकेन्द्रनाथ सेन भन्छन्,‘‘अब रामदेवको भूमिका बाबाको रुपमा मात्रै होइन कि व्यापारीको रुपमा अघि बढीरहेको छ ।’’

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *