Sajhamanch Archive

बिर्तामोडको मुसहर बस्तीमा स्वास्थ्य शिविर, औषधिसहित स्वास्थ्य सामग्री निशुल्क प्रदान

Published: in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका बिर्तामोड नगरपालिका वडा नं. ३ र वडा नं. १० का मुसहर समुदायलाई लक्षित गरी बिर्तामोड नगरपालिकाले आज निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

अनारमनी स्वास्थ्य चौकी र गरामनी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएको शिविरबाट करिब सय जनाले लाभ लिएका छन् । कार्यक्रममा बिरामीहरुलाई निःशुल्क औषधी पनि प्रदान गरिएको छ ।

छाला रोग, छाती रोग, ज्वरो तथा रुघाखोकी जस्ता स्वास्थ्य समस्याहरु मुसहरुमा भेटिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले बताए ।

त्यस्तै बालबालिकामा कुपोषणको समस्या पाइएको अनारमनी स्वास्थ्य चौकीका अहेव सबिता सापकोटाले जानकारी दिइन् । सरसफाइको समस्या भएपछि मुसहर बस्ती मै स्वास्थ्य शिविर आयोजना गरिएको स्वास्थ्य शाखाका प्रमुख दंगालकोे भनाई छ ।

स्वास्थ्य शिविरमा आएका मुसहर समुदायका सहभागीलाई स्वास्थ्य सम्बन्धी जनचेतना पनि दिइएको छ । सो अवसरमा अमेरिकाबाट घर फर्केका बिर्तामोड ९ का दिपक तिवारीले टुथपेस्ट, ब्रस, नुहाउने साबुन, लुगा धुने साबुन, कपालमा लगाउने तेल, गम्छा, शौचालय सफा गर्ने हार्पिक, ब्रसजस्ता स्वास्थ्य सामग्रीहरु पनि प्रदान गरेका छन् ।

 

खासगरी अधिकांश बालबालिकाहरुले बिहान मुख नधुने भएकाले तिनको बानी परिवर्तनका लागि यस किसिमको स्वास्थ्य सामग्री प्रदान गरिएको मुसहर बस्ती विकास निर्माण समितिका अध्यक्ष इन्द्रसिंह राजवंशीले बताए ।

बिर्तामोड नगरपालिका वडा नं ३ का अध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख धु्रबकुमार शिवाकोटीले अन्धुवा खोलाको बगरमा रहेका मुसहरहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी दिगो आवासको ब्यवस्था मिलाइने आश्वासन दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन दिपेन्द्र चौधरी, सहयोगी दिपक तिवारीले पनि आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका प्रमुख दंगालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *