झापामा यसरी मनाइयो पाचौं अन्तर्राष्ट्रिय टोपी दिवस
Published: (Updated: )
by .मेचीनगर । पाँचौं अन्तर्राष्ट्रिय टोपी दिवस झापाको मेचीनगर, चन्द्रगढी र दमकमा विविध कार्यक्रमसहित मनाइएको छ । ‘हाम्रो टोपी हाम्रो शान, शिरमा सगरमाथा हाम्रो स्वाभिमान ’ भन्ने नाराका साथ नेपाल ट्राभल संघ झापाले तीनवटै ठाउँमा अलग अलग समयमा पाचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा कार्यक्रम सम्पन्न गरेको हो । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप संघले नगरमा पहिलो पटक टोपी दिवस मनाएको हो ।
नेपाली टोपीमा सजिएर मंगलबार (१ जनवरी) का दिन नगरको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय काँकरभिट्टाको पुरानो यात्रु शाखामा विहान ८ बजे भेला भएर प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । मुख्यः राजमार्ग, काँकरभिट्टा बजार, शान्ति मार्ग भएर बाहुनडाँगी रोड हुदैं मेची भन्सार परिसरमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले टोपीले हरेक नेपालीको परिचय दिने भएकाले हरेकले आज मात्र नभएर सधै टोपी लगाउनुपर्नेमा जोड दिएका थिए । शिरमा ढाकाको टोपी जस्ले लगाएको छ उस्ले स्वदेशमा मात्र होइन विदेशमा समेत आफु नेपाली भएको परिचय दिइरहनु नपर्ने उनको भनाई थियो । शिरको टोपीले नेपालीको पहिचान दिने नगरप्रमुख आचार्यको भनाई थियो ।
शिरको टोपी हरेक नेपाली नागरिकको शान र पहिचान भएकाले पनि यसको प्रयोग सवैले गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिइएपनि पछिल्लो समय युवाहरुले यसलाई विर्सिदै गएको कारण राष्ट्रिय मौलिक पोशाकको जगेर्ना स्वरुप पनि टोपी दिवस मनाइएको संघका अध्यक्ष निरबहादुर कार्कीले जानकारी दिए ।
नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अध्यक्ष कार्कीले माग गरे । संघले अब हरेक वर्ष यो दिवस सभ्य र भव्यरुपमा मनाउने भएको छ । हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाइने गरिएको छ । विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट हटाइएको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, संघका सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष शंकर भट्टराई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म केड क्वाटर ८ नम्बर गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाई, मेची सामुदायिक प्रहरी सेवा केन्द्र मेचीनगरका अध्यक्ष बुद्धिनाथ पौडेल नेपाललगायत ठूलो संख्यामा सञ्चारकर्मी, सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अध्यक्ष कार्कीले गरेका थिए ।
Comments