Sajhamanch Archive

झापालीका माग जायज छन्, म सकारात्मक छु : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहका सरकारको अभ्यास गरिरहेकाले द्विविधाका कारण ढिलाई भएको विकास निर्माणका कामले अब तीब्रता लिने दाबी गरेका छन् ।

झापाबाट प्रधानमन्त्रीसँग भेट गर्न बालुबाटार अएका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु तथा स्थानीय तहका जनप्रतिनिधी एवम् प्रमुख प्रशासकीय अधिकृतहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको प्रधानमन्त्रीले बताएका थिए ।

“यस्ता द्विविधाले पुरानाभन्दा नयाँनयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो” प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै अधिकारीले भने “अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तीब्रताका साथ अगाडि बढ्छन्” भनी प्रधानमन्त्रीले ढाडस दिएका छन् ।

सो अवसरमा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको, पशुहाट बजार केन्द्र सम्पन्न भएको, दमक भ्यू टावरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको तथा सो परियोजनाका लागि पाँच विगाहा जमिन नगरपालिकाको नाममा आइसकेको तिम्सिनाले अवगत गराए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सुरुङ्गा–झापा सडक, लक्ष्मीपुर– घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे । नगरप्रमुख पोखरेलले कनकाईमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा एक करोड रुपैयाँ विनियोजन गरिदिन प्रधानमन्त्रीसँग माग गरे ।

यसैगरी अर्जुनधारा नगरपाकिलाका प्रमुख हरिकुमार रानाले पनि नगरको विकास निर्माणका बारेमा जानकारी गराउँदै नगरको विकासका लागि संघीय सरकारले आवश्यक ध्यान पुर्याउन आग्रह गरे ।

जनप्रतिनिधिका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले तिनले राखेका जायज मागका बारेमा आफू सकारात्मक रहेको बताए ।

प्रतिनिधि मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल, सांसद पवित्रा निरौला खरेल, पूर्व सांसद दिपक कार्की, जिसस झापाका संयोजक सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपाका नेताहरु चिन्तन पाठक, गगन पुरी लगायत सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *