Sajhamanch Archive

पूर्वीनाकाबाट भित्रिने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, by .

काँकरभिट्टा । सन् २०१८ को एकवर्षे अवधिमा पूर्वी नाका भएर ११ हजार १ सय ७५ नेपाली एवम् विदेशी पर्यटक पैदल मार्ग हुदैं नेपाल भित्रिएका छन् । उक्त वर्ष ४ हजार ६ सय ५७ नेपाली र ६ हजार ४ सय १८ विदेशी पर्यटक काँकरभिट्टा नाका भएर नेपाल भित्रिएका हुन् । गत वर्ष सोही अवधीमा ११ हजार ४ सय ९७ पर्यटक नेपाल आएका थिए ।

गतवर्ष भन्दा ३ सय २२ पर्यटक कमि रहेको अध्यगमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ । जसमा सवैभन्दा बढी बंगलादेशी पर्यटक नेपाल आएका छन् । बंगलादेशबाट १ हजार ९ सय ३२ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तैगरी चीनबाट २ सय २ पर्यटकले नेपाल भ्रमण गरेका छन् । दोस्रोमा धेरै पर्यटक आउने मुलुकमा अमेरिका रहेको छ । अमेरिकाबाट ८ सय ५६ पर्यटक एकर्षमा नेपाल भित्रिएका छन् ।

यसैगरी भुटानबाट ७ सय ६९, दक्षिण कोरियाबट ३ सय ६०, थाइल्याण्डबाट ३ सय ८, युकेबाट २ सय ४३, फ्रान्सबाट २ सय ३३, जर्मनबाट १ सय ७२, जापानबाट १ सय ५७, तथा क्यानडाबाट १ सय १६ पर्यटक पर्यटक नेपाल आएका अध्यागमन सहायक डिल्लीप्रसाद खतिवडाले बताए ।

खतिवडाका अनुसार गतवर्ष र सन्२०१८ मा पर्यटक आगमनमा कमि हुनुको मुख्यः कारण भुटानी पर्यटक नै हुन् । गतवर्ष १ हजार ६ सय भुटानी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका थिए । तर, सन् २०१७ को तुलनामा २०१८ मा भने करीव ५० प्रतिशत कम भुटानी नेपाल आएका छन् । भुटानबाट ७ सय ६९ पर्यटक नेपाल प्रवेश गरेको अध्यगमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ । शुरु शुरुमा नेपाल प्रवेश गर्ने पर्यटकहरुले सोझै दुतावासबाट भिसा लिने गरेका भएपनि पछिल्लो समय सम्बन्धित कार्यालयबाटै लिने गरे पनि अपेक्षा अनुसार पर्यटकको संख्या नरहेको कार्यालयको भनाई छ । यसरी पर्यटकको संख्यामा कमि आउनुलाई यहाँका पर्यटन व्यवसायीले दुःखद पक्ष भएको बताएका छन् ।

‘नेपालमा पर्यटकीय चहलपहल शुरु भएपनि पूर्वी नाकाबाट भित्रिने पर्यटकको संख्या खासै उकालो लाग्न नसक्नु यहाँका पर्यटन व्यवसायीहरुका लागि दुःखद पक्ष हो’ ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीले भने—‘हाम्रो व्यवसाय नै पर्यटकहरुसँग अश्रित व्यवसाय हो ।’

पर्यटन व्यवसायी तथा नाटाका पूर्व महासचिव उदयकुमार श्रेष्ठका अनुसार अहिले पर्यटकहरुका लागि नेपाल घुम्न आउने मुख्य सिजन हो । तर, पैदलमार्ग भएर काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या कम हुनुले यहाँका ट्राभल व्यवसायीमा असर पुगेको छ । पर्यटकको संख्या कम भएपछि व्यवसायीको आर्थिक कारोवारमा समेत प्रभाव पर्ने श्रेष्ठ बताउँछन् । पर्यटनको मुख्य सिजन नजिकिदैं जाँदा कुनै बेला पूर्वका होटल, ट्राभल, ट्रेकिङ सवै तर्फको बुकिङ उत्साहजनक रहेको थियो । सन् २०१८ मा खासै आफ्नो व्यवसाय उत्साहजनक नरहेको व्यवसायीहरुको भनाई छ ।

थोरै समय नेपालमै विताउने भएपनि विदेशीले काठमाडाँै, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाली ट्राभल व्यवसायीको भनाइ छ । डेनमार्क, चीन, फ्रान्स, युके, दक्षिण कोरिया, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्टे«लिया, जापान, नेदरल्याण्ड, श्रीलंका, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड,वेल्जियमलगायतका मुलकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् । २०१६ मा १० हजार ६ सय २ जना विदेशि पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क कार्यालयसँग सुरक्षित छ । २०१७ मा १० हजार ३ सय ६६ तथा २०१६ मा ९ हजार ८ सय ४२ पर्यटक यो नाका भएर बाहिरिएका थिए । सन् २०१८ मा भने ११ हजार ५ सय ५ जना बाहिरिएका छन् ।

कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्लेस्टाइन, स्वीजेरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *