Sajhamanch Archive

आयल निगमको चाबी सुरेन्द्र पौडेलको हातमा

Published: in अर्थतन्त्र, मुख्य समाचार by .

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

१७ जना प्रतिष्पर्धीहरु मध्येबाट ५ जनाको नाम सर्टलिस्टमा राखेर कार्ययोजना मागेको आपूर्ति मन्त्रालयले तीमध्ये तीनजना अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रालयको सिफरिस पछि मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १७ जनाले आवेदन दिएको जनाइएको थियो ।

नवनियुक्त कार्यकारी निर्देशक पौडेल उदयपुर सिमेन्टको महाप्रबन्धक रहँदा तीन वर्षे कार्यकाल अवधिमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । निगमको साँचो पौडेलको हातमा परेकाले उनले आयल निगमलाई कसरी सञ्चालन गर्छन् भनी चियाउन थालेको पाइन्छ ।

पौडेलको काँधमा आयल निगमको घाटा अन्त्य गर्ने, मूल्य समायोजनमा ध्यान दिने तथा नेपालमा पेट्रोलियम पदार्थको निरन्तर उपलब्धताका लागि चुनौति छन् भने तत्कालीन कार्यकारी निर्देशक खड्काको पालामा निगमका लागि किनेको जग्गामा उचित संरचनाहरु निर्माण गर्नुपर्ने दायित्व रहेको जानकारहरु बताउँछन् ।

निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *