Sajhamanch Archive

यो वर्ष जाडो बढेन; भक्का चलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । हिउँदयाम शुरु भएसँगै झापासहित तराइका जिल्लामा भक्का खानेको लस्कर लाग्छ । बिहानको स्कूल कलेज पढ्ने विद्यार्थीमात्र होइन, मर्निङ वाक पूरा गरेर चिया पसल छिर्नेहरु पनि नजिकैको भक्कावालीसँग भेट्न आतुर हुन्छन् । अनि कतिपय घरबाट अभिभावकले बालबच्चाहरुलाई पनि हातमा पैसा बोकाएर भक्का किन्न पठाएका दृश्यहरु देखिन्छन् ।

विशेषतः राजवंशी महिलाहरुले यसको व्यावसाय गर्ने गर्छन् । तर पछिल्लो समयमा तराइबासी समुदायका कतिपय महिलाले यो पेशा अंगालेको पाइन्छ । थोरै आर्थिक लगानीमा गर्न सकिने भक्का व्यावसायमा तराई मूलका महिलाको बाहुल्यता रहेको पाइन्छ ।

तराइबासीको बाक्लो बसोबास रहेका कतिपय सहरहरुमा पनि अहिले सडकमा भक्का पाक्न थालेको छ । काठमाडौंको अनामनगरमा आवतजावत बाक्लै हुने गरे पनि भक्काको स्वाद नचाखेकाहरु भएकाले भक्का पकाउने एक व्यावसायीलाई ग्राहकको पर्खाइमा कति दिनहरु गुजार्नुपरेको सम्झनाले झस्काइरहन्छ ।

झापाको बिर्तामोड नगरपालिका ९ गरामनीकी सुकु राजवंशीले जाडो समयमा बिहान साढे ४ बजेदेखि ९ बजेसम्म भक्का पकाएर बेच्दै आएको सुनाउँछिन् । करिब २५ वर्ष अगाडिदेखिको भक्का ब्यापारबाट उनलाई मनग्ये फाइदा भएको सुकुसँगको कुराकानीले दर्शाउँथ्यो । हिजोआज दिनमा १५ केजीसम्म चामलको पिठोबाट बनाइने भक्का बेच्ने गरेको र नाफा भएको पैसा घरायसी कार्यमा लगाउने गरेको सुकु राजवंशी बताउँछिन् ।

उनको पसलमा उभिएर भक्का खाँदै गरेकी गरामनीकै शुभेच्छा खरेल छिटो, मिठो र सस्तोमा पाइने भएकाले भक्कालाई नास्ताको रुपमा लिने गरेको बताउँछिन् ।

भक्का बनाउँदा चामल वा कनिका भिजाई पिठो बनाउनु पर्छ । सो पिठो केहीबेर भिजाएर बटुकामा भर्नुपर्छ अनि भाँडामा भक्भकी उम्लिएको पानीको बाफ निस्कँदै गरेको दूलोमा केहीबेर बफ्याएपछि भक्का पाक्छ । यसमा नून खोर्सानी छर्किएर वा अचारमा चोबेर तात्तातै खाँदा अत्यन्त स्वादिलो हुने उपभोक्ताहरु बताउँछन् ।

बिर्तामोडकी शिलादेवी चौधरीले पनि विगत १५ वर्षदेखि भक्काको व्यावसाय गर्दै आएको बताउँछिन् । बिहान साढे पाँचदेखि ९ बजेसम्म ६ केजी चामलको भक्का बेच्दा ८ सय रुपैयाँसम्म नाफा भएको उनको अनुभव छ ।

“भक्का व्यावसायबाट निकै सन्तुष्ट छु, आफूले यो व्यावसाय शुरुगर्दा प्रतिगोटा १–२ रुपैयाँमा बेच्ने गरेकोमा अहिले १० रुपैयाँसम्म बिक्री हुने गरेकोले चौधरीलाई व्यावसायमा फलिफाप नै छ । जाडोमा मात्र भक्का बिक्री हुनाले कहिले हिउँद महिना शुरु हुन्छ र भक्का बेचौं भन्ने उनलाई लागिरहन्छ ।

तर यो वर्ष पुस महिना सकिनै लाग्दा पनि जाडो नबढेकाले अघिल्ला वर्षहरुजस्तो यसपाली भक्का बेच्न नपाएको उनको गुनासो छ । भक्का व्यापारी शिलादेवी भन्छिन्, ‘जाडोले जसलाई जे–जस्तो असर हुने भए पनि आफ्नो भक्का बेच्ने सिजनमा जाडो भइदिएन भने परिवार पाल्नै गाह्रो हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *