Sajhamanch Archive

प्रधानमन्त्री ओलीले गरे चेम्बरको खुलेर प्रशंसा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीको हक अधिकार र देशको आर्थिक विकासको लागि उल्लेखनीय काम गरेकोमा प्रसंशा गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले चेम्बरका पदाधिकारी, कार्यसमिति तथा जिल्ला नगरका अध्यक्षलाई चेम्बर दिवसको अवसरमा रात्री भोजको आयोजना गरी यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अहिले चेम्बर अग्रसर भएर जीउ हल्लाउदा नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सिएनआई) लाई केही असर परेको आफूलाई लागेको छ ।

‘केही समय सुतेको जस्तो गरेको नेपाल चेम्बर अफ कमर्स पछिल्लो समय उद्योगी व्यवसायीको लिडिङ गरेर अघि बढेको छ जुन एकदमै सराहनीय छ’ प्रधानमन्त्रीले भनेका छन्, चेम्बरले छुट्टै महिला चेम्बर नै गठन गरेर महिलाहरुलाई पनि उद्यमशिल भएर आफ्नो खुट्टामा उभिनका लागि जागरुक गराएर उल्लेखनीय काम गरेको छ ।’

यस अघिका कार्यक्रममा व्यवसायीका जायज माग मात्र सरकारले सम्बोधन गर्न सक्ने भाषण गर्दै आएका प्रम ओलीले चेम्बरको ६८औं बार्षिक साधारणसभा तथा चेम्बर दिवसको अवसरमा बोल्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वागत मन्तव्यमा बोलेका सबै कुरा जायज भएको भन्दै सरकारको पूर्ण समर्थन रहेको बताएका थिए ।अहिले चेम्बरले सही मुद्दा उठाएको तथा ती मुद्दामा सरकार र व्यवसायीबीच छलफल गरेर कार्यान्वयनमा लगिने समेत उनले बचनवद्धता जाहेर गरेका थिए ।

रात्रीभोजमा प्रम ओलीले स्वार्थ बाझिएका र पुराना ऐन नियमलाई समयसापेक्ष परिमार्जन गरिने समेत बताए । साथै उनले जिल्ला तथा नगर चेम्बरका अध्यक्षहरुलाई आ–आफ्नो क्षेत्रमा व्यवसायिक हकहित र देशको आर्थिक विकासका लागि दृढ भएर लाग्न समेत आग्रह गरे ।

प्रम ओलीले पछिल्लो समय कतिपय संस्था खुल्ने तथा बन्द हुने गरेपछि उद्योगी व्यवसायीहरुको लागि खुलेको सबैभन्दा पुरानो व्यवसायिक छाता संगठन नेपाल चेम्बर अफ कमर्स आफ्नो ६८ बर्षको इतिहाससम्म निरन्तर अघि बढेको भन्दै खुशी व्यक्त गरेका थिए ।

सन् २०१९ को मार्चमा हुने लगानी सम्मेलनलाई भव्य रुपमा सफल बनाउन व्यवसायीको तर्फबाट सुझाव पेश गर्न चेम्बरलाई प्रधानमन्त्रीले आग्रह पनि गरे । ‘सम्मेलनलाई सफल बनाउन सरकारले केकस्तो काम गर्न पर्छ सुझाव पाउँ’ उनले भने, व्यावसायीको मागलाई लगानी बोर्डमा राखेर छलफल गर्नेछौं ।’

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको ६८ बर्षको इतिहासमा प्रधानमन्त्रीले चेम्बर दिवसको अवसरमा चेम्वर कार्यसमितिलाई बोलाएर रात्री भोजको आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

‘नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ६८ बर्ष भयो भने मैले नै यस संस्थामा ३० बर्ष विताईसके तर अहिलेसम्म चेम्बर दिवसको अवसरमा प्रधानमन्त्री सम्मान स्वरुप यसरी रात्री भोजको आयोजना गर्नुभएको थिएन,’ उनले भने, ‘आज प्रधानमन्त्रीले जसरी रात्री भोजको आयोजना गरेर चेम्बरलाई सम्मान दिनु भएको यसले हामी माथी अझै बढी जिम्मेवारी थपिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *