Sajhamanch Archive

माइमेलामा एनएमसीको खाद्यमेला

Published: in मुख्य समाचार, सहकारी by .

कनकाई । माघे संक्रान्तिको अवसरमा आजदेखि कनकाई माईको कोटीहोम स्थलमा तीन दिने एनएमसी खाद्यमेला सुरु भएको छ । पवित्र कनकाई माइमा आजदेखि सुरु भएको मकर मेलाको सन्दर्भ पारेर संस्थाले एनएमसी खाद्यमेला सुरु गरेको हो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीको रजत वर्षको उपलक्ष्यमा खाद्य मेला आयोजना गरिएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले नेपालीका मौलिक खाद्य संस्कार हराउँदै गएकाले तिनको स्मरण गरिरहन तथा प्रवद्र्धन गर्न यस्तो मेला सहयोगी हुने आवश्यकता महसुस गरिएको बताए ।

खिर, ढकने, चाम्रे भात र गुन्द्रुकको अचार, फापरको रोटी, कोदोको ढिडो, तरुलको खाजा, राजवंशी समुदायको भक्काजस्ता मौलिक एवम् स्वस्थवद्र्धक खाद्यबस्तुहरु खाने बानीको विकास गराउन, तथा तिनलाई रेष्टुरेन्टको मेन्युमा समावेश गराउने अभियानका लागि यो प्रकृतिको खाद्यमेला महत्वपूर्ण हुने ठानेर खाद्यमेला आयोजना गरिएको अध्यक्ष उप्रेतीको भनाई छ ।

संस्थाका सञ्चालक सदस्य खोमनाथ मिश्रको संयोजकत्वमा सुरु भएको तीन दिने खाद्य मेलाको व्यवस्थापनमा एनएमसी डेरी उद्योगसमेतले सहयोग गरेको छ । मेलामा एनएमसी डेरी उद्योगका उत्पादनहरुसहित नेपाली परिकारहरु बेच्न राखिएका छन् । ती परिकारहरु एनएमसीका सदस्यहरुले मेलास्थलमा नै तयार गरेर उपभोक्तालाई दिने व्यवस्था मिलाइएको छ ।

संस्थाका सञ्चालक सदस्य मिश्रले एनएमसीका उत्पादनहरुको परिचय विस्तार गर्न एवम् उपभोक्तालाई स्वस्थकर खाद्यबस्तु उपभोगका लागि प्रोत्साहित गर्न मेला सहयोगी हुने अपेक्षा सुनाए । मेलामा फुरौला, सेलरोटी, खिर, ढकने, फिलुङ्गेको अचार जस्ता मौलिक खाद्यबस्तु अघाउँजी खान पाइने संस्थाका सञ्चालक सदस्य मिश्रले जनाए ।

मेलाको अवलोकन गर्न आज संस्थाको सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष एवम् सञ्चालक सदस्यहरु, विभिन्न समितिका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *