Sajhamanch Archive

७३ हजार कर्मचारीले रोजे समायोजन, ४ हजार कर्मचारी समायोजनमा जानु नपर्ने

Published: in मिडियाबाट साभार by .

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७३ हजार ३ सय ३० कर्मचारीले अनलाइन फाराम भरेका छन् । फाराम भर्न दिइएको २१ दिनको म्याद बुधबार सकिँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार ६२ हजार ४६ जनाको फाराम सफ्टवेयरमा दर्ता भइसकेको छ भने ११ हजार २ सय ८३ जनाले भरेको फाराम सफ्टवेयरमा पोस्ट हुन बाँकी छ । बुधबार राति ११ः५९ बजेसम्म कर्मचारीले अनलाइनमा फाराम अपलोड गर्न सक्नेछन् ।

प्रमुख पनेरुले ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएको बताए । अध्यादेशले वृत्तिविकास रोकेको भन्दै सुरुमा कर्मचारी आन्दोलित भए पनि उनीहरूका माग संघीय निजामती कर्मचारी ऐनमा समेटिने सरकारको घोषणापछि समायोजन प्रक्रिया सहज भएको थियो ।

समायोजन सूचना जारी गर्नुअघि मन्त्रालयले सबै कर्मचारीलाई किताबखानामा विवरण अपडेट गराउन भनेको थियो । त्यसअनुसार ७४ हजार ५ सय ८७ ले निजामती किताबखानामा आफ्नो विवरण अपडेट गराएका थिए । तिनमा ७३ हजार २० निजामती र १ हजार ५ सय ६७ जना अन्य सेवाका कर्मचारी थिए । परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी स्वतः संघीय सरकारमा रहने भएकाले उनीहरू समायोजन प्रक्रियामा जानु पर्दैन ।

मन्त्रालयले गत पुस ११ गते समायोजनका लागि चार वटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको थियो । सरकारी सेवाका कर्मचारी, साविक जिविसमा स्थायी नियुक्ति पाएर जिल्ला समन्वय समिति वा अन्य कुनै स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारी र संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचनामा दरबन्दी कायम नभएका पदका कर्मचारीका लागि आवेदन खुलाएको थियो ।

समायोजन सूचना जारी गर्दा सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । त्यसैअनुसार कर्मचारी समायोजन हुनेछ ।

राष्ट्रिय निजामती किताबखानामा ८९ हजार कर्मचारीको विवरण भए पनि समायोजन फाराम भर्ने कर्मचारीको संख्या बुधबारसम्म करिब ७५ हजार पुग्ने देखिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए । उनका अनुसार निजामती किताबखानामा विवरण अपडेट नगराएका कर्मचारीलाई समेत समायोजन सफ्टवेयरमा राखिनेछ ।

‘फाराम नभरेकाहरूको नाम र विवरण पनि सफ्टवेयरमा सिफ्ट गरिनेछ,’ उनले भने, ‘कसैको नाम पनि छुट्दैन ।’ बिदामा रहेका, अध्ययनमा रहेका कर्मचारीको हकमा भने समायोजन लागू हुँदैन । फाराम भरिसकेका सबै कर्मचारीको विवरण भेरिफाई गरेपछि कर्मचारी समायोजन सफटेयरले नै को कहाँ पर्‍यो ९संघ, प्रदेश र स्थानीय तह० छुट्टयाइ दिनेछ । त्यसका लागि सफ्टवेयरको डिजाइन भइसकेको छ ।

मन्त्रालयले पहिलो चरणमा सचिवलाई समायोजन पत्र दिनेछ । ‘मन्त्रिपरिषद्बाट निर्णय गराएर सचिवहरूलाई समायोजन पत्र दिइनेछ,’ पनेरुले भने, ‘सचिवपछि सहसचिवलाई पत्र दिइनेछ ।’ सम्भवतः आगामी साता सचिवहरूलाई समायोजन पत्र दिइने मन्त्रालयको तयारी छ । कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *