Sajhamanch Archive

अनशनरत डा.केसीलाई इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु

Published: in राष्ट्रिय समाचार by .

इलाम । इलाममा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको छ ।

जिल्ला अस्पताल इलामले केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको जनाएको छ ।

उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि भने प्रयोग नगरिएको जानकारी दिए ।

उनले अनसनरत डा. केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको र शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म आइपुगेको बताए ।

डा.साहका अनुसार केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आईसीयू नभएकाले उपचारमा समस्या देखिएको छ ।

उपचारका लागि डा. केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आईसीयूको सेवा दिने तयारीसमेत भइरहेको बताइएको छ ।

डा.केसीले हालै संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आफूसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्नेसहितका ६ बुँदे माग राखेर गत पुस २५ गतेबाट इलाममा १६ औँ सत्याग्रह सुरु गर्नु भएको हो ।
डा. केसीको अनसन आठौँ दिन पुग्दा पनि वार्ता गर्न सरकारले चासो देखाएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *