Sajhamanch Archive

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ । त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ।

गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ । यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ । यी समस्या चिसो महिनामा अझ बढी हुन्छ । त्यसैले यो बेला खानपिनमा ध्यान पुर्‍याउनुपर्छ।

शरीरमा भिटामिन सी को कमी हुन नदिन कागती पानी, सुन्तला, मौसम आदि खाने गर्नुपर्छ । यो समयमा खाना नरुच्ने, खाए पनि सजिलै नपच्ने भएकाले सकेसम्म भिटामिन सी युक्त खानेकुरामै जोड दिनुपर्छ । चौथो महिना लागेपछि भने अलि सहज हुन्छ । खान मन लाग्ने हुन्छ।

जाडो महिना भन्दैमा चिया, कफी बढी खाने प्रचलन छ । त्यसले ग्यास्ट्रिक बढाउन सक्छ । बरु प्रोटिन धेरै पाइने अन्डा, मासु आदि खान जोड दिनुपर्छ।

जाडोयाममा पानी थोरै खाने गरिन्छ । तर, पानी थोरै खाँदा पिसाबमा संक्रमण हुन सक्छ र समय अगावै बच्चा जन्मन सक्छ । त्यसैले पर्याप्त पानी पिउने गर्नुपर्छ।

गर्भवतीले बढी भिडभाडयुक्त शहरमा प्रदुषणबाट जोगिन पनि उत्तिकै आवश्यक हुन्छ । घरबाट बाहिर निस्किँदा धूलो–धूवाँबाट बच्न मास्क लगाउने गर्नुपर्छ ।
गर्भवती अवस्थामा इम्युनिटी पावर कम भएर छिटै चिसो लाग्ने भएकाले बढी ध्यान दिनुपर्छ । सजिलै रुघाखोकी लागिहाल्ने भएकाले शरीर न्यानो पार्नुपर्छ । न्यानो लुगा लगाउने, हात–खुट्टामा पनि पञ्जा र मोजा लगाउने, तातो खानेकुरा बढी खाने गर्नुपर्छ।

यो समयमा बिसन्चो भएमा औषधि खान उचित मानिँदैन । हामी डाक्टरले एन्टीबायोटिक पनि दिन सक्दैनौं । त्यसैले गर्भवतीले आफू नै सचेत भएर शरीरको हेरविचार गर्नुपर्छ।

गर्भ रहेको २६ हप्तादेखि बच्चा जन्मिने समयसम्म तेस्रो चरण हो । यो समयमा महिलाहरु अब कुनै पनि बेला मेरो बच्चा जन्मिन सक्छ भनेर मानसिक रुपमा तयार हुन्छन् । यो समयमा रुचेसम्म पर्याप्त खानुपर्छ । बाहिरका खानेकुरा सकभर खानु हुँदैन।

जाडो महिना छ, चिसो लाग्छ भनेर ननुहाई बस्नु हुँदैन । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नुहाएपछि टम्म लुगा लगाएर न्यानो भएर बस्नुपर्छ।

यो अवस्थामा गर्भमा बच्चा बढ्दै जाँदा पनि हात–खुट्टा सुन्निन सक्छ । यदि ब्लडप्रेसर बढेको छ र हात–खुट्टा सुन्निभएको छ भने खतरा हुन सक्छ । यस्तो अवस्थामा स्वास्थ्य संस्थामा गएर जँचाइहाल्नुपर्छ । रक्तचाप बढ्नुका साथै मधुमेह पनि हुन सक्ने भएकाले समयसमयमा चेकअप गराउनुपर्छ।

गर्भावस्थामा धेरै बेरसम्म खुट्टा झुन्ड्याएर बस्नु हुँदैन । बस्दा पनि केही सपोर्ट लिएर बस्नुपर्छ । उभिँदा शरीरको पूरै भार खुट्टामा पर्ने भएकाले लामो समय उभिनु पनि हुँदैन ।
गर्भावस्थामा चेकअप गर्दा सबै सामान्य छ भने घरको थोरतिनो काम गर्न सकिन्छ । यसले शरीर सक्रिय रहेर फाइदा नै हुन्छ । बिहान–बेलुका सामान्य हिँडडुल गर्न सकिन्छ । सामान्य योग पनि गर्न सकिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *