Sajhamanch Archive

‘पूर्व नेपाल सहकारी हुने विरुवाको चिल्लो पात’ : संयोजक उप्रेती

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरिएको छ ।

बिर्तामोड सेवा केन्द्रको व्यवस्थापन तथा संयोजक गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व नेपालको वित्तीय झलकसहित सामाजिक क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरु बारे चर्चा गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित लेखा संयोजक तथा एनएमसीका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा केक काटेर तथा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि उप्रेतीले पूर्व नेपाललाई हुने विरुवाको चिल्लो पातको संज्ञा दिँदै शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरुको संयुक्त प्रयासमा संस्थाले खिरिलो हुने अवसर पाउने बताए ।

सहकारी संस्थाहरु आफ्नै विनियममा चल्नु पर्छ भन्दै एनएमसीका उपाध्यक्षसमेत रहेका उप्रेतीले थपे, सञ्चालक समितिसहित उपसमितिमा रहने सबैले स्वयम्सेवी भावनाका साथ काम गर्दा सहकारीले राम्रो प्रगति गर्नसक्ने छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष शालिकराम पोखरेलले संस्थाको वित्तीय अवस्थाहरु प्रस्तुत गरेका थिए । उनका अनुसार यही पुष मसान्तमा पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको सेयर पूँजी आठ करोड ३६ लाख २५ हजार रुपैयाँ तथा कोष रकम सात करोड दुई लाख ९६ हजार रुपैयाँ बनाइएको छ ।

यस्तै संस्थामा आवद्ध पाँच हजार ५०६ शेयर सदस्यहरुबाट ३९ करोड ६१ हजार रुपैयाँ निक्षेप र सदस्य माझ ५७ करोड ८४ लाख कर्जा लगानीमा रहिरहेको विवरण अध्यक्ष पोखरेलले प्रस्तुत गरे ।

संस्थाका संस्थापक अध्यक्ष गणेश ढकालले २०५७ साल माघ ९ गते स्थापना गरिएको संस्थामा हाल ७० करोड हाराहारीको वासलात अंक पुर्याइएको बताए ।

उनले सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार सामाजिक क्षेत्रमा लगानी गर्न आफूहरु सकारात्मक रहे पनि लक्षित अंक पूरा नभएसम्म त्यसो गर्न नपाइएको सुनाए ।

संस्थाले आफ्ना सदस्यहरुलाई शेयर लाभांशसहित संरचित पूँजी फिर्ता कोषबाट पनि लाभ प्रदान गर्न थालिएको कार्यक्रमका अध्यक्ष ढकालले सुनाए । 

संस्थाको सञ्चालक समितिका सदस्य प्रेम सापकोटाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष केदारनाथ ढुङ्गेलले शाब्दिक स्वागत गरेका थिए । सो अवसरमा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिएस प्रधान र बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष पार्वता खरेल बिमलीले सान्दर्भिक भनाई राखेका थिए ।

सो अवसरमा संस्थाको सामाजिक सेवाकार्य अन्तरगत बिर्तामोडको देवी माविलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यस्तै संस्थाको सेवाबाट अवकास लिई अध्ययनका लागि जिल्ला छाड्दै गरेका कर्मचारी सरोज ढकाललाई प्रशंशापत्र सहित विदाई गरियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *